free website hit counter

चेतनाको कमीले विस्तार हुन नसकेको व्यवसाय

beemaadmin
२०७६ कार्तिक ११, सोमबार

गणेश गौतम

आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रुपमा बीमालाई लिइन्छ । कुनै पनि व्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भविष्यका बारेमा पनि सोच्नुपर्छ । आर्थिक नोक्सान हुँदा क्षतिपूर्ति ग्यारेन्टी बीमाले गर्दछ । बीमा गर्दा बिमित र बिमकबीच भएको सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिने गर्छ । बीमाले भविष्यमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्ने तथा जोखिम हस्तान्तरण गर्न सहयोग गर्दछ । धेरै उपयोगी भएर पनि प्रचार प्रसार र चेतनाको कमीले गर्दा बीमा गर्ने बानी धेरैमा छैन । मुस्किलले नेपालमा १९ प्रतिशत मानिसले मात्रै जीवन बीमा गरेका छन् । सम्पत्ति बीमामा पनि बाध्यात्मक अवस्थामा बाहेक खासै आकर्षण देखिएको छैन । मानिसले जीवनभरको कमाईबाट बनाएको एक डेढ करोड पर्ने घरको जोखिम प्रतिवर्ष ४­/५ हजार बुझाउँदा बीमा कम्पनीले बहन गर्छ । तर पनि सम्पत्ति बीमामा आकर्षण बढ्न सकेको छैन ।

सुरुमा भारतीय बीमा कम्पनीहरुले खुला रुपमा कार्यालय खोली बीमा अभिकर्ता मार्फत नेपालमा बीमा व्यवसाय चलाएका थिए । स्वदेशी बीमा कम्पनिको स्थापना हुनुभन्दा अघि ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरिसकेका थिए । बैंकिङ कारोबारको बृद्धिसँगै नेपालमा बीमाको महत्व र आवश्यकता बढेको हो । नेपाल बैंक लिमिटेडले २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ।

बीमा गर्नु भनेको कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्नु हो । यसैले बीमा गर्दा बिमितलाई कहिलै पनि घाटा हुँदैन । बीमा गर्दा भविस्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविस्यका लागि सहयोग पु¥याउँछ । आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था समेत छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् । बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिने हुँदा सानोतिनो गर्जो टार्न बित्तीय सस्थाहरुको ढोका चाहार्नै पर्दैन ।

बीमा गर्दा बीमा गर्ने व्यक्ति लाई कहिलै पनि घाटा हुँदैन । बीमा गर्ने कम्पनिले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनीमा क्षति हुँदा वा उक्त कम्पनि डुवेकै अवस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमामा कम्पनीको पनि बीमा गरिएको हुन्छ । पछिल्लो समय नेपालमा बीमा व्यवसायको संख्या केही बढे पनि बजार विस्तार सन्तोषजनक हुन सकेको छैन । दक्ष जनशक्तिको अभाव अझै बीमा व्यवसायले झेलिरहेको छ । बीमा कम्पनीलाई सहरमुखी नभई गाउँमुखी बनाउनुपर्ने आवस्यकता देखिए पनि शहरको तुलनामा गाउँ गाउँमा बीमा व्यवसाय विस्तार हुन सकेको छैन । बीमामा पछिल्लो समय सचेतनाको अभाव नै सबै भन्दा ठूलो समस्या र चुनौती देखिएको छ । सचेतना अभिवृद्धि गरी आम नेपालीलाई बीमाको पहुँचभित्र पार्न सरकारले अहिलेसम्म कदम नचालेका कारण झण्डै ८० प्रतिशत नेपाली बीमाको पहुँचभन्दा बाहिर छन् ।

कुनै पनि व्यक्तिले बीमा गर्नुपूर्व बीमाका बारेमा पूर्ण रुपमा जानकारी लिनुपर्ने हुन्छ । व्यक्तिले आफ्नो नीजि सम्पति होस् वा जीवन बीमा र अन्य साधनहरुको बीमा गराउँदा पहिले यसका बारेमा जानकारी लिन जरुरी हुन्छ । सरकारले कृषि विमामा ७५ प्रतिशत छुटेको व्यवस्था गरेको छ । किसानहरु यस बिषयमा अनविज्ञ छन् । सरकारले कृषकलाई बीमाका वारेमा सचेतना जगाउन नसकेको कारण आकर्षण नदेखिएको हो ।

बीमा क्षेत्रमा यस्ता छन् समस्या
बीमा व्यवसायका जनचेतनाको कमी सबैभन्दा ठूलो समस्या हो । यसमा बीमा कम्पनीहरू समेत जिम्मेवार छन् । यसैगरी भौगोलिक विकटताले पनि बीमा व्यवसाय फस्टाउन नसकेको हो । सबै बीमा कम्पनीहरु शहरमुखी हुनु अर्को चुनौती हो । दूरदराजका जनताले अझै बीमाका बारेमा सुनेका पनि छैनन् । दक्ष र अनुभवी जनशक्तिको अभाव अर्को ठूलो समस्या हो । जसका कारण बीमा व्यवसायलाई प्रभावकारी ढंगबाट अघि बढाउन सकिएको छैन । बीमा क्षेत्रमा कार्यरत जनशक्तिका लागि तालिमको पनि उस्तै अभाव छ । तालिम अभावका कारण यस क्षेत्रका जनशक्ति दक्ष हुन सकेका छैनन् । भौतिक सम्पत्ति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै बीमा क्षेत्र विस्तार गर्नुपर्ने देखिएको छ । बीमा दाबीका लागि सर्वेयरको कमी अर्को समस्या हो । एउटै सर्वेयरमा धेरै कम्पनी भर पर्नु पर्ने भएका कारण पनि बीमा दाबी भुक्तानीमा समस्या देखिएको छ ।
(लेखक इलेक्ट्रिकल तथा कम्प्युटर इञ्जिनियर हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार