काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राकिरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । प्राधिकरणले बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न वाञ्छनीय भएकोले बीमा ऐन २०७९ अनुसार जीवन बीमालेख सम्बन्धी निर्देशिका जारी गरेको हो ।यससँगै बीमा कम्पनीहरुले बीमालेख तयार गर्नु अघि बजार अनुसन्धानको प्रतिवेदन,लागत लाभ विश्लेषण,जोखिमको पहिचात,आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना लगायतको कागजात तयार पार्नुपर्ने हुन्छ । बीमा कम्पनीहरुले बीमालेख तयार पार्दा बीमा लेखको प्रस्तावित नाम बजारमा प्रचलनमा रहेका बीमालेखहरु भन्दा फरक हुनुपर्ने, प्राविधिक टिप्पणीको आधारमा बीमालेख तयार हुनुपर्ने, जीवन बीमा व्यवसायको परिभाषा अनुरुप नेपालको परिवेश सुहाउँदो हुनुपर्ने व्यवस्था छ । यस्तै बीमकले बचत प्रकृतिको तथा पेन्सनरएन्युइटी प्रकृतिको बीमालेख तयार गर्दा अनिवार्य रुपमा मृत्यु जोखिम समेत बहन गर्ने गरी तयार पार्नेपर्दछ । बीमालेख तयार पार्दा न्युनतम बीमा अवधि पाँच वर्ष कायम गरी तयार गर्नुपर्ने र म्यादी जीवन बीमाको हकमा न्युनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिनेछ । एकल बीमाशुल्क भुक्तानी सहितको बीमालेखमा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ भएको तीन वर्ष पूरा भएपश्चात मात्रै बीमालेख समर्पण तथा बीमालेख धितोमा कर्जा प्रदान गरिने व्यवस्था छ ।