काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यसमध्ये अधिकांश हिस्सा पुराना पोलिसी नवीकरणबाट आएको देखिएको छ।
प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरूले १ खर्ब ८ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमा शुल्कबाट आर्जन गरेका छन् भने नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) बाट ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँ मात्र संकलन भएको छ। यसअनुसार नवीकरणको हिस्सा करिब ७७ प्रतिशत र नयाँ व्यवसायको हिस्सा २२ प्रतिशत मात्र रहेको छ।
यसले जीवन बीमा क्षेत्र नयाँ ग्राहकभन्दा पुराना पोलिसी नवीकरणमै बढी निर्भर रहेको देखाउँछ। पछिल्ला वर्षहरूमा कम्पनीहरूले नवीकरणलाई प्रोत्साहन गर्न क्यासब्याक, उपहार तथा विभिन्न छुट योजनाहरू पनि ल्याउँदै आएका छन्, जसले नवीकरण व्यवसाय बढाउन सहयोग गरेको छ।
कम्पनीगत विवरण हेर्दा नेपाल लाइफले ६ महिनामा २८ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ नवीकरणबाट संकलन गरेको छ, जुन कुल व्यवसायको ठूलो हिस्सा हो। सोही अवधिमा कम्पनीले ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ नयाँ व्यवसायबाट आर्जन गरेको छ।
नेशनल लाइफले ९ महिनामा १२ अर्ब ५६ करोड १९ लाख रुपैयाँ नवीकरणबाट र ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ नयाँ व्यवसायबाट संकलन गरेको छ। एलआइसी नेपालले १२ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ नवीकरण र २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ नयाँ बीमाबाट आर्जन गरेको छ।
त्यस्तै हिमालयन लाइफले ११ अर्ब ४९ करोड ७५ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १२ करोड ५३ लाख, सूर्यज्योति लाइफले ६ अर्ब ३५ करोड १० लाख, एशिएन लाइफले ५ अर्ब ४९ करोड २५ लाख र सिटिजन लाइफले ४ अर्ब ११ करोड ५९ लाख रुपैयाँ नवीकरणबाट संकलन गरेका छन्।
अन्य कम्पनीहरूमा सानिमा रिलायन्सले ३ अर्ब ९५ करोड ४३ लाख, आईएमई लाइफले ३ अर्ब १९ करोड ७९ लाख, मेट लाइफले ३ अर्ब ७४ करोड २६ लाख, रिलायबल नेपालले २ अर्ब ९८ करोड ६४ लाख, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ९६ करोड ९९ लाख र सन नेपाल लाइफले २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ नवीकरणबाट आर्जन गरेका छन्।
यी तथ्यांकले स्पष्ट गर्छ कि जीवन बीमा कम्पनीहरूको व्यवसाय संरचना नयाँभन्दा पुराना पोलिसी नवीकरणमा बढी केन्द्रित हुँदै गएको छ।