काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको समग्र नाफामा गिरावट आएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउनदेखि असोजसम्म कुल १ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ११.३४ प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले कुल १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।
कम्पनीगत रूपमा हेर्दा सन नेपाल लाइफ इन्स्योरेन्स नाफा आर्जनमा पहिलो स्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा २४ करोड ४९ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २३ करोड ९२ लाख ७७ हजार रुपैयाँ थियो। यसअनुसार कम्पनीको नाफा २.३६ प्रतिशतले बढेको छ।
त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स २२ करोड ९० लाख ६९ हजार रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ। यद्यपि, कम्पनीको नाफा गत वर्षको तुलनामा ११.३९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २५ करोड ८५ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समग्रमा अधिकांश जीवन बीमा कम्पनीको नाफा घटेको भए पनि केही कम्पनीले भने सुधार गरेका छन्। प्रभु महालक्ष्मी लाइफले नाफा वृद्धिमा अग्रता कायम गरेको छ।
ईपीएसमा कुन कम्पनी अगाडि ?
जीवन बीमा कम्पनीहरूको नाफामा आएको संकुचनसँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट देखिएको छ। समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाहेक अन्य सबै कम्पनीको ईपीएस गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
ईपीएसका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५५ पैसा कायम भएको छ। यद्यपि, गत वर्षको १८ रुपैयाँ ९५ पैसाको तुलनामा यो ४० पैसा कम हो।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ईपीएस गत वर्षको तुलनामा ६७ पैसा र सानिमा रिलायन्स लाइफको ५ पैसा बढेको छ।
समग्रमा जीवन बीमा कम्पनीहरूको नाफा र प्रतिसेयर आम्दानीमा आएको गिरावटले क्षेत्रको वित्तीय प्रदर्शनमा दबाब देखाएको छ।