free website hit counter

ज्योति विकास बैंक १९औँ वर्षमा प्रवेश

beemaadmin
२०८३ श्रावण ११, सोमबार

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १८औँ वार्षिकोत्सव मनाउँदै १९औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. २०६५ साउन ९ गते स्थापना भएको बैंकले वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा नवजात शिशु संरक्षणसँग सम्बन्धित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षता रहेको थियो। कार्यक्रममा सञ्चालक समिति, पूर्वअध्यक्ष, पूर्वसञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको बैंकले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत तिलगंगा इन्स्टिच्युट अफ अफ्थाल्मोलोजीसँग सहकार्य गर्दै ४० जना विपन्न तथा लक्षित वर्गका नागरिकको निःशुल्क मोतियाबिन्दु शल्यक्रियामा सहयोग गर्ने सम्झौता गरेको छ। यस कार्यक्रमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई दृष्टि फर्काउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण जडान गर्ने घोषणा गरिएको छ। नवजात शिशुलाई अल्पतापबाट जोगाउन र शिशु मृत्युदर न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभा अभिवृद्धिका लागि तेस्रो संस्करणको सिर्जनात्मक प्रतियोगिता आयोजना गरिएको थियो। उत्कृष्ट सहभागीलाई अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए भने अन्य सहभागीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

बैंकले केन्द्रीय कार्यालय तथा विभिन्न शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा कर्मचारी, ग्राहक र सर्वसाधारण गरी करिब ५५ जनाले रक्तदान गरेका थिए। साथै कर्मचारीका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गरिएको थियो।

समारोहमा बैंकमा लगातार १० वर्ष र १५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवाको कदरस्वरूप सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले बैंकको १८ वर्षको सफल यात्रामा साथ, सहयोग र विश्वास गर्ने ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले पनि संस्थापक, पूर्वपदाधिकारी, कर्मचारी, ग्राहक तथा लगानीकर्ताको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि जिम्मेवार बैंकिङ सेवाप्रति बैंक प्रतिबद्ध रहने बताए।

बैंकका अनुसार स्थापना भएयता प्रत्यक्ष रूपमा ३ हजारभन्दा बढी परिवारलाई रोजगारी उपलब्ध गराइएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म बैंकले करिब ७६ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको जनाएको छ।

हाल ज्योति विकास बैंकले देशभर ११७ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार