free website hit counter

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिनुभयाे ? 

beemaadmin
२०८३ बैशाख २८, सोमबार

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले बैशाख २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गरिएको हो।

Advertisement
Advertisement

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ।

Advertisement
Advertisement

त्यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

हाल सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरिएको हो, जसको कुल मूल्य २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबर रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरिरहेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी रहेको छ।

कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्ट गरिएको आधारमा लगानी फिर्ता अवधि १८.३७ वर्ष रहने अनुमान गरिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार