free website hit counter

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

beemaadmin
२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बुधबार सुनुवाइपछि अधिकारीलाई जेल चलान गर्न आदेश दिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार अधिकारीलाई नख्खु कारागार पठाइने तयारी गरिएको छ।

व्यवसायी कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा तुलसा अधिकारीसहित अशोककुमार अग्रवाल लगायत १० जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अभियोग लगाइएको छ।

जाहेरीअनुसार चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी भएको दाबी गर्दै उजुरी दिएका थिए। अनुसन्धानका क्रममा अधिकारीसँग सम्बन्धित करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर गरिएको छ।

२०७२ भदौदेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्यान्ड पुगेकी थिइन्। उनलाई गत शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो।

अदालतको आदेशसँगै अब उनीमाथिको मुद्दाको अन्तिम फैसला नआउञ्जेल पुर्पक्षका लागि कारागारमै रहनेछिन्।

सम्बन्धित समाचार