काठमाडौं । कोरोना कहरका कारण यस वर्ष ठूला बडाको हात खालि हुने भएको छ भने कार्यकर्ताको निधार खाली हुने भएको छ । राजतन्त्रकै झल्को दिनेगरी घुँडा टेकाएर राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयमा हुने टीकाटालो बन्दै भएको छ । त्यति मात्रै होइन पूर्व राजा ज्ञानेन्द्रले आफ्नो विरासत धान्दै लगाइदिने टिकाटालोलाई यस पटक बन्द गरेका छन् ।
यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको बताए ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।
पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ । पाठकका अनुसार यसवर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।
यसरी टीका टाप्न जानेहरु आस्थाका आधारमा भन्दा पनि कार्यकर्ता र चाडकीका लागि पुग्नेहरु नै धेरै हुने गरेका थिए ।