धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ का २५ वर्षीय खेमराज कठायत (खगेन्द्र) रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार कठायतलाई भारततर्फ भाग्ने क्रममा धनगढी–२ स्थित भन्सार रोडबाट पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लागूऔषध प्रयोगकर्ता रहेका कठायतले रकम जुटाउने उद्देश्यले बालकको हत्या गरेको देखिएको छ। घटनामा घरेलु हतियार प्रयोग भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालकले लगाएको सुनको मुन्द्रा लुट्ने उद्देश्यले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अभियुक्तले मुन्द्रा बिक्री गर्न नपाएको बयान दिएका छन् भने उक्त मुन्द्रा पनि चाँडै बरामद हुने विश्वास प्रहरीले व्यक्त गरेको छ।
तनुज असार १० गते घरबाट बेपत्ता भएका थिए। उनको शव दुई दिनपछि असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित स्थानीय बालिका सामुदायिक वनभित्र फेला परेको थियो।
घटनाको अनुसन्धानका क्रममा यसअघि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अनुसन्धानपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।