free website hit counter

तिहारपछि, चुनावअघि लघु बीमा कम्पनीको लाइसेन्स

beemaadmin
२०७९ आश्विन ३०, आईतवार

काठमाडौं । बीमा कम्पनीलाई मर्जरमा पठाएर नियामक निकायले वितरण गर्न लागेको लघु बीमा कम्पनीको लाइसेन्स तिहार पछि र आसन्न संघ र प्रदेशको निर्वाचनअघि मात्रै वितरण हुने भएको छ । चुनावको मुखमा वितरण हुन लागेको लाइसेन्सले कतिको निर्वाचन खर्च जुटाउने हो भन्ने चर्चा पनि वित्त बजारमा चल्न थालेको छ । नियामक निकाय बीमा समितिले तोकिएको अवधि भित्र आवेदन दिएका ३१ वटा कम्पनीहरु मध्ये सात वटा कम्पनीलाई तिहारपछि मात्रै लाइसेन्स वितरण गर्ने तयारी गरेको हो । बीमा समितिले तोकेको अवधि भित्र ३१ वटा कम्पनीहरुले लघु बीमा कम्पनीको लागि लाइसेन्स माग्दै आवेदन दिएका थिए । १५ वटा लघु जीवन बीमा कम्पनी र १६ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले आवेदन दिएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिमा प्राप्त भएका आवेदनहरु समितिले अध्ययन गर्न थालेको जानकारी गराएका छन् । त्यस्तै उनले लघु बीमा कम्पनीको लाइसेन्स तिहार पछि मात्रै लाइसेन्स वितरण गर्ने बताए । आवेदन परेकामध्येबाट ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघु बीमा कम्पनीलाई मात्रै समितिले लाइसेन्स वितरण गर्नेछ । लाइसेन्सको लागि अनुमति माग्दै आवेदन दिने लघु जीवन बीमा कम्पनीहरुमा स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो लाइफ इन्स्योन्स, गरिमा माइक्रो लाइफ, सिजि लाइफ इन्स्यूर, प्रोटेक्टिभ माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिम शिखर जीवन लघुबीमा, सुरक्षा लघु जीवन बीमा, स्वर्गद्वारी लघु जीवन बीमा कम्पनी रहेका छन् ।
यस्तै निर्जीवन बीमा कम्पनीमा नियो लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नती माइक्रो जनरल, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, गरिमा माईक्रो इन्स्योरेन्स, सिजि इन्स्योरेन्स माईक्रो इन्स्योरेन्स, गण्डकी माईक्रो इन्स्योरेनस, स्टार माईक्रो इन्स्योरेन्स, केयर माइक्रो जनरल र अभियान लघुबीमाले आवेदन दिएका छन् । प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्ने उल्लेख छ। यस्तै प्रस्ताव संस्थापकहरुले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुमा हुन नहुने पनि व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार