free website hit counter

तिहारमा कसले किन्यो ७० करोडको सुन ?

beemaadmin
२०७९ कार्तिक ९, बुधबार

काठमाडौं । चाडपर्वलाई धुमधामसँग मनाउने हाम्रो संस्कृतिकै कारण ऋण खोजेर भए पनि मानिसले खर्च गर्छन् । कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैंपछि तिहारको समयमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको हो । दसैंको समयमा दैनिक २० किलोग्रामसम्म सुनको व्यापार भएको थियो । त्यसपछि देशभर दैनिक १० देखि १५ किलोग्रामका दरले सुनको बिक्री हुँदै आएको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले दसैंपछि सुकेको सुनचाँदीको कारोबार तिहारमा एकाएक बढेको जानकारी दिए ।
तिहारको २ दिन (धनतेरस र धनवन्तरी जयन्ती) मा दैनिक ४५ किलोग्रामसम्म सुन बिकेको छ, शाक्यले भने, यो एकदमै राम्रो व्यापार हो । हामीले दैनिक ३० देखि ३५ किलोग्राम सुन बिक्री हुने अपेक्षा राखेका थियौं । शाक्यका अनुसार २ दिनमा गरी कूल ९० किलोग्रामभन्दा बढी सुन बिकेको छ । यो वर्ष २ दिन धनतेरस परेर पनि व्यापार बढी भएको व्यापारीहरूको भनाइ छ । प्रतिकिलोग्राम सुनको मूल्य ८१ हजार रुपैयाँ हाराहारी पर्छ, शाक्यले भने, यसआधारमा २ दिनमा करिब ७२ करोड ९० लाख रुपैयाँ बराबरको सुन बिक्यो । बजारमा अपेक्षाभन्दा बढीको माग देखिएपछि अर्डर पुरा गर्नै हम्मेहम्मे परेको शाक्यले बताए । नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुनमात्रै आयात गर्न दिन्छ, शाक्यले भने, यहीकारण, खरिदकर्ताको मागअनुसार सुनको आपूर्ति गर्न सकिएन । मागअनुसार आपूर्ति दिन सकेको भए दैनिक ५० किलोग्रामसम्म सुनको बिक्री हुन्थ्यो ।
यस्तै, तिहारमा २ हजार किलोग्रामभन्दा बढी चाँदी बिक्री भएको महासंघले जनाएको छ । दुई दिन गरेर २ हजार किलोग्रामको व्यापार हुँदा लामो समयपछि सुनचाँदीको बजार गुल्जार भएको अध्यक्ष शाक्यले बताए । ‘एक किलो चाँदीको मूल्य १ लाख ४ हजार हुन्छ, उनले भने, यसअनुसार तिहारको २ दिनमा मात्रै २० करोड ८० लाख रुपैयाँको चाँदी बिक्यो । यसबाहेक अन्य दिनमा समेत सुनचाँदीको व्यापार राम्रै भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार