दृष्टिविहीन विद्यार्थीलाई आइएमई लाइफको शैक्षिक सहयोग
beemaadmin २०८३ असार २५, बिहीबार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीले ‘शिक्षा सबैको अधिकार’ भन्ने मूल नारालाई आत्मसात गर्दै मैत्री समाज नेपालको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो।
कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित भेरीगंगा नगरपालिका–११, रामघाटमा रहेको श्री शिखर माध्यमिक विद्यालय मा आयोजित कार्यक्रममा अध्ययनरत २० जना दृष्टिविहीन विद्यार्थीलाई विद्यालय झोला, ब्रेल कपी तथा कम्प्युटर प्रयोगका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा आइएमई लाइफका कर्णाली प्रदेश प्रमुख जीवनकुमार धामी, प्रदेश संयोजक रमा आचार्य, बीएसए जमिना गुरुङ, स्टार एजेन्सी म्यानेजर भुमा मिजार तथा मैत्री समाज नेपालका प्रतिनिधि प्रमेन्द्र ढकाल र पवन सिग्देलको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जीवनकुमार धामीले शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार भएकाले दृष्टिविहीन तथा फरक क्षमता भएका विद्यार्थीको शिक्षामा सहयोग गर्नु सामाजिक दायित्व भएको बताए। उनले यस्ता सहयोगात्मक कार्यक्रमले समावेशी शिक्षाको प्रवर्द्धन गर्नुका साथै विद्यार्थीको अध्ययनलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार यस्ता सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।