काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
शनिबार (कात्तिक २८ गते) ललितपुरमा आफू पक्षीय पार्टी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालत कुनै पनि आर्थिक प्रलोभनमा पर्ने संस्था नभएको बताएका हुन् ।
उनले नेपालको न्यायपालिकाप्रति आफूलाई पूर्ण विश्वास रहेको उल्लेख गर्दै अदालतले स्वतन्त्र र निष्पक्ष रूपमा फैसला गर्ने विश्वास व्यक्त गरे । अदालतबाट आफूहरूमाथि अन्याय नहुने र अन्ततः आफ्नै पक्षमा फैसला आउने उनको दाबी थियो ।
सम्बोधनका क्रममा देउवाले पञ्चायतकालदेखि नै नेपालको न्यायपालिकाको भूमिका नजिकबाट नियालेको स्मरण गरे । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनसत्ता हातमा लिएका बेला शाही आयोग गठन गरी आफूलाई जेलमा राखिएको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो कठिन परिस्थितिमा समेत सर्वोच्च अदालतले आफूलाई न्याय दिएको बताए ।
राजाको प्रत्यक्ष शासन रहेका बेला अदालतले आफूलाई न्याय दिन सक्ने कि नसक्ने भन्ने आशंका रहे पनि सर्वोच्चले साहसपूर्वक फैसला गरेर आफूलाई रिहा गरेको उनको भनाइ थियो ।
त्यसबेला अदालतले देखाएको निष्पक्षता र साहसलाई स्मरण गर्दै देउवाले अहिलेको पार्टी आधिकारिकता विवादमा पनि न्यायपालिकाले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई अदालतको निर्णयप्रति विश्वास राख्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । जनता र पार्टी आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउनुपर्ने बताए ।
देउवाले आफूहरूको जित सुनिश्चित रहेको विश्वास व्यक्त गर्दै जनताको साथ र विश्वास लिएर देश तथा जनताको सेवामा निरन्तर समर्पित हुन नेता–कार्यकर्तालाई आह्वानसमेत गरे ।