free website hit counter

नयाँ सरकार निर्माणको गृहकार्य प्रारम्भ

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा नयाँ सरकार निर्माणबारे छलफल प्रारम्भ भएको छ। मंगलबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको छ। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको बताइन्। ‘सभापति र वरिष्ठ नेताबीच निरन्तर कुराकानी भइरहेको छ। सभापति बिरामी भएकाले भेटवार्ता हुन नसके पनि कुराकानी भइरहेको छ, रावल भन्छिन्, सरकार निर्माणका विषयमा चाँडै उहाँहरुबीच भेटवार्ता हुन्छ। आजभोलि नै भेट्ने कुरा थियो। सभापति बिरामी हुँदा भेटवार्ता हुन नसकेको हो। बालेनका विश्वासपात्र तथा काठमाडौँ–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले रवि लामिछानेसँग छलफल गरेर भावी प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरू छान्ने बताए। मन्त्री छनोट गर्ने कुरा लिने–दिने सम्झौताको विषय नहुने भन्दै रवि र बालेनबीच छलफल भएर टुंगिने उनको भनाइ छ। रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेन शाहले आफ्नो क्याबिने आफैँ छनोट गर्ने उल्लेख गरेका छन्। रास्वपाको सरकार बन्ने निश्चित भएपछि बालेन अहिले समानुपातिकतर्फको क्लस्टर मिलाउन आन्तरिक छलफलमा छन्। रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौँको मेयर हुँदाका प्रमुख स्वकीय सचिव भूपदेव शाहले आज बालेन शाहलाई भेटेका थिए। अछाम–२ मा भूपदेवको पराजयबारे बालेनले गहिरो चासो राखेका थिए। सरकार निर्माणका विषयमा औपचारिक कुराकानी सुरु नभएको भन्दै परिणाम सार्वजनिक भएपछि पार्टीको बैठक बस्ने शाहले बताए। समानुपातिकतर्फको मत हेर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले चार–चार सिट पाउने सम्भावना देखिन्छ।समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम गरी ६ वटा क्लस्टरमा आयोगले तोकेको प्रतिशतअनुसार दलहरूले उमेदवारको सूची आयोगमा बुझाएका छन्। यसबाटै समानुपातिक सांसद छानिनेछन्। समानुपातिक मतगणना सकिएपछि आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा सिट संख्या निर्धारण गर्छ। सिट संख्या निर्धारणपछि राजनीतिक दलहरूसँग ती सिटमा मनोनयन गर्ने सांसदको सूची माग्छ।त्यसपछि उक्त सूची विभिन्न ‘क्लस्टर’ अनुसार मिले–नमिलेको हेरेर टुंगो लगाउने छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझापछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न बाटो खुल्नेछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि चैत पहिलो साताभित्र नयाँ सरकार गठनको बाटो खुल्ने छ। चैत ५ गतेसम्म आफ्नो संसदीय दलको नेता चुन्ने रास्वपाको तयारी छ।
चुनावअघि नै वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले संसदीय दलको नेता पनि उनैलाई नै बनाउने निश्चित छ। प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जित्ने पार्टीको संसदीय दलको नेता नै सरकार प्रमुख हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा ७६ (१) मा ‘प्रतिनिधिसभामा बहुमतप्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ भनिएको छ। रास्वपाको संसदीय दलको नेता चयन भइसकेपछि बालेनलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नेछन्। स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की चैत ५ गतेभित्र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने तयारीमा छिन्। प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई चैत ५ सम्म नयाँ सरकार आउने संकेत गरेका थिए।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार