काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो आईपीओका लागि प्रति कित्ता १,१०० रुपैयाँ मूल्य प्रस्ताव गरेको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ, जसअन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि यो प्रारम्भिक मूल्य निर्धारण गरिएको हो।
कम्पनीका अनुसार शुक्रबार आयोजित रोड शो कार्यक्रममा संस्थागत लगानीकर्तासँग छलफल गर्दै उक्त मूल्य प्रस्ताव गरिएको हो। बोलकबोल (बिडिङ) प्रक्रियाबाट अन्तिम मूल्य निर्धारण हुने भएकाले यसमा केही परिवर्तन हुन सक्नेछ।
कम्पनीको जारी पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात् २० करोड ४१ लाख २० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरिनेछ। यसअनुसार, प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख ४१ हजार २०० कित्ता सेयर निष्कासन गरिनेछ।
जारी गरिने सेयरमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको छ भने बाँकी ६० प्रतिशत अर्थात् १२ लाख २४ हजार ७२० कित्ता सेयर सर्वसाधारण (कर्मचारीसमेत) का लागि बुक बिल्डिङ विधिमार्फत बिक्री गरिनेछ।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरिएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन समेत दिइसकेको छ।