काठमाडौं । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सवारीसाधनको प्रकार र काठमाडौं प्रवेश गर्ने वा बाहिरिने दिशाका आधारमा फरक–फरक शुल्क निर्धारण गरेको हो।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
मिनी बस तथा मिनी टिपर/ट्रकका लागि प्रवेशतर्फ ११५ रुपैयाँ र बाहिरिने दिशातर्फ ८० रुपैयाँ शुल्क तोकिएको छ। त्यसैगरी, बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ बुझाउनुपर्नेछ।
भारी सवारीसाधनतर्फ मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोजनाका अनुसार सडक उपभोग दस्तुर सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाका आधारमा निर्धारण गरिएको हो।
