free website hit counter

नागरिकमा बीमाबारे धेरै सचेतना आएको छ

beemaadmin
२०७६ आश्विन १२, आईतवार

बीमा आजको आवश्यकता हो । कसैको व्यवसाय बढाउन नभई आफ्नो आवश्यकता पुरा गर्न बीमा गर्नुपर्छ भन्ने भावना जगाउनुपर्छ । बीमा अनिवार्य भने हुनुहुँदैन । हिजो बीमा क्षेत्रमा जनशक्तिको कमी थियो भनिरहँदा हामीले जनशक्ति धेरै चाहिने गरी काम नै गरेका थिएनौं । बीमाको पहुँच ६ प्रतिशत मात्रै भन्यौं, सधै यहिँ हुन्छ भन्ने सोच्यौं । तर नौवटा कम्पनी भएको बजारमा १० वटा नयाँ थपिँदा जनशक्तिमा केही कमी देखिएको हो । तर पछिल्लो समय बीमा क्षेत्रमा आकर्षण बढेको छ । यो क्षेत्रमा क्रमिक रुपमा युवा आकर्षण बढ्दैछ । बीमा क्षेत्रबाट मुलुकलाई राम्रो फाइदा पुगेको छ । हामीलाई पूर्वाधार विकासको आवश्यकता छ । यसका लागि दिर्घकालीन लगानी आवश्यक छ ।

यस्तो लगानी जीवन बीमा क्षेत्रबाट जुट्नसक्छ । जीवन बीमा कम्पनीहरुमा वार्षिक रुपमा पैसा जम्मा भएर एउटा निश्चित समयका लागि बसेको रकम लगानी गर्न सकिन्छ । अहिले बैंकबाट बीमा गरेको विषयले नकारात्मक असर गरेको छ । बीमाका लागि ‘मोटिभेट’ गर्ने हो । ‘क्लाईन्ट’बाट लिएको रकम हाम्रो कमाई नभएर दायित्व हो । यो रकमलाई ‘गभर्मेन्ट ब्याकअप प्रोजेक्ट’मा लगानी गर्न सकिन्छ । बीमा भनेको एकदमै विश्वासको कुरा हो । बिमित र अभिकर्ताहरुले हामीलाई विश्वास गर्नु भएको छ । बीमा बिजिनेसमा अभिकर्ताहरुको काम धेरै गाह्रो हुन्छ । अभिकर्ताले कमिशनका लागि मात्र काम गर्ने होइन, विमित र संस्थाको हित पनि हेर्नुपर्छ ।

अपराधले दिएको शिक्षा
रौतहट र पोखरामा भएको घटनाले हामी बीमा व्यवसायीहरुले भविश्यमा यस्ता घटना हुन सक्लान कि भन्नेमा सचेत हुनपर्छ । यो घटना नेपालमा नयाँ हो । छिमेकी भारतमा यस्ता घटना नयाँ होइन तर, हाम्रो नेपालमा कल्पना भन्दा बाहिरको कुरा थियो । आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि गम्भीर हुनुपर्छ । यसमा हामी हाम्रो तर्फबाट के गर्न सक्छौं भन्ने सोच्नुु पर्छ । अहिले नेपालमा कोहि पनि व्यक्ति बीमा कम्पनीमा आफैं आएर बीमा गरेका छैनन् । कोही व्यक्ति बीमा गर्न अभिकर्ता वा सिधै बीमा कम्पनीमा आए भने उनी किन बीमा गर्न चाहन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बीमा गर्न आउने व्यक्तिको आम्दानीको श्रोत, बीमा गर्न चाहनुको कारण, आनिबानीदेखि स्वास्थ्य अवस्थासम्मको मिहिन जानकारी लिनु पर्छ । पहिले त यस्तो विषयमा अभिकर्ताले ध्यान दिनुपर्छ । गलत सोचका साथ बीमा गर्न खोजेको व्यक्तिले धेरै कुराहरु लुकाउँछ । हामीले सकेसम्म सत्य खोतल्ने प्रयास गर्नुपर्छ ।

बढी बेच्न खोजदा पैसा नउठेर सिमेन्ट उद्योग बन्द भए । भविष्य नहेरी बिक्री बढाउन खोजियो भने त्यसको असर पर्छ । हामीले बीमा त गर्ने हो तर, बीमा गर्न योग्य छ छैन भन्ने पनि हेर्नुपर्यो । सबै बीमा कम्पनीले ‘टार्गेट बेस’ काम गरिरहेका छन् । त्यो टार्गेट गएर अभिकर्तामा ठोकिन्छ । टार्गेट पुरा गर्न अभिकर्ताहरुलाई हामी आकर्षक सेवा सुविधा दिन्छौं तर, उहाँहरुले रकम बढाउने नाममा क्लाईन्टबारे राम्ररी नबुझी गर्नु हुँदैन । यस्ता घटना रोक्न बीमा अभिकर्तामार्फले आफूले गर्न खोजेको बीमाबारे गहिरोसँग बुझ्न पर्यो । यो–यो अवस्थामा बीमा कभरेज हुन्छ वा हुँदैन भनेर बझ्न र बुझाउन सक्नुपर्छ । आपराधिक घट्नामा संलग्नहरुलाई कडाभन्दा कडा कानुनी सजाय हुनुपर्छ, जसबाट यसो अपराध गर्नै हुँदैन भन्ने सन्देश प्रवाह होस् ।

अवसर र चुनौती
चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ । सफल हुनका लागि चुनौतीलाई अवसर बनाउनुपर्छ । बजारमा नयाँ प्रतिष्पर्धी थपिएपछि नयाँ योजना अनुसार काम गर्नुपर्छ । प्रगतिको चाहना सबैमा हुन्छ । कोहि व्यक्ति वा संस्था परिपूर्ण हुँदैन । हामीले राम्रोका लागि काम गर्ने हो । यो कुरा मनन् गर्दै आफ्नो कामलाई स्थिर तरिकाले अगाडि बढाउन सक्नुपर्छ । अहिले नागरिकमा बीमाबारे निकै चासो बढेको छ । बीमा कम्पनीहरु थपिएसँगै बीमासम्बन्धी कार्यक्रमहरु पनि धेरै भए । बीमा अभिकर्ताहरुको संख्या बढ्यो । बीमा अभियन्ता पनि बढेका छन् । सञ्चारमाध्यमहरुमा पनि बीमाका विषयले धेरै स्पेश पाएको छ । नियमनकारी निकाय बीमा समितिले पनि बीमा जागरणको कार्यक्रम चलायो । गाउँगाउँमा पुगेर त्यहाँको स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रमहरु गर्यो । यसले पनि आम नेपालीमा बीमाबारे धेरै सचेतना आएको छ ।

सुधारका उपाय
नेपालमा ९९ प्रतिशत जीवन बीमा लेख अभिकर्ताबाट बिक्री हुने गरेको छ । अभिकर्ता नै वास्तवमा बीमाको जनचेतना जगाउने माध्यम हुन् । उनीहरुबिना बीमा सम्भब छैन । तिनै अभिकर्तालाई बीमा कम्पनीले समय सापेक्ष र सही ढंगले तालिम दिइरहेका छैनन् । बीमाले नियमित बचतको बानी बसाउनुका साथै पूँजी निर्माणमा सघाउँछ । बैंकमा बचत गर्दा जसरी ब्याज पाइन्छ त्यसरी नै बीमाबाट पनि बोनसको रुपमा आम्दानी हुन्छ । नियमित जागिर भएका जागिरेले बीमा गर्दा कर छुट हुने प्राबधान समेत छ । नेपालीहरुमा बचतभन्दा खर्च धेरै गर्ने बानी बढिरहेको छ । विदेशबाट आएको रेमिट्यान्सको अधिकांश हिस्सा बिदेशी सामान किनेर उतै फर्किन्छ ।

बीमा गर्ने बानी बसाल्ने हो भने केही मात्रामा भए पनि बचत र अफ्ठ्यारो पर्दाको लागि सुरक्षण हुन जान्छ । नेपालमा बीमा प्रति गलत धारण छ । बीमा गर्नु भनेको अभिकर्तालाई कमिसन खुवाउनु भनेर बुझिएको छ । दक्ष अभिकर्ता नहुँदा जनतामा बीमाबारे गलत सन्देश फैलिन सक्छ । नेपालमा बीमा कम हुनुको प्रमुख कारण सरकारका सबै पक्षले बीमालाई तेस्रो प्राथमिकतामा राख्नाले हो । बीमाको लागि बीमा कम्पनी सरकारी निकाय तथा नियमनकारी निकाय सबै मिलेर जानु पर्छ । बीमाबाट ठूलो पूँजी निर्माण हुन्छ र राज्यले यसबाट फाइदा लिन सक्छ । हामी जीवन बीमा कम्पनीको सबैभन्दा महत्वपुर्ण काम भनेको बिमितबाट उठाएको रकमको उचित व्यवस्थापन नै हो । यो रकम हाम्रो सम्पत्ति नभइ दायित्व हो । त्यसैले यसको व्यवस्थापनमा चुकेको खण्डमा बिमितको भविश्यको सुरक्षण सहि ढंगले नहुन सक्छ । (नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाका सार्वजनिक अभिइक्तिमा आधारित)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार