काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । उदयपुरका स्थायी बासिन्दा कार्कीलाई सरकारले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त भएका कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक थिए । उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशक पदमा छनोट भएका थिए ।
कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा काम गरेको अनुभव छ ।
उनले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । साथै, केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन् ।