free website hit counter

नागरिक लगानी कोषको नाफा ७.७२ प्रतिशतले बढ्यो, १ अर्ब ३५ करोड पुग्यो

beemaadmin
२०८३ श्रावण २८, बिहीबार

काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आफ्नो वित्तीय प्रदर्शनमा सुधार गर्दै १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.७२ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी पनि ७.२८ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। कुल आम्दानीमा सेवा शुल्क तथा कमिसनबाट १ अर्ब ७९ करोड रुपैयाँ र ब्याज आम्दानीबाट ३६ करोड ४७ लाख रुपैयाँ योगदान रहेको छ।

कोषको खुद कोष मौज्दात ३ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, विभिन्न क्षेत्रमा गरिएको कुल लगानी बढेर ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

वित्तीय सूचकअनुसार कोषको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४७ पैसा कायम भएको छ।

लगानी प्रतिफल भने घट्यो

नाफा र आम्दानी बढे पनि कोषको लगानी प्रतिफलमा भने गिरावट आएको छ। बजारमा तरलता अधिक हुँदा मुद्दती निक्षेपको ब्याजदर घटेकाले कोषको लगानी प्रतिफल अघिल्लो आर्थिक वर्षको ५.६८ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा सीमित भएको छ।

घट्दो ब्याजदर र सफ्टवेयर एकीकरणको चुनौतीबीच कोषले डिजिटल रूपान्तरण, सेवा प्रवाहमा चुस्तता तथा सुरक्षित र विविधीकृत लगानीलाई प्राथमिकतामा राखेको जनाएको छ।

कोषले सहभागीहरूलाई दीर्घकालीन रूपमा आकर्षक प्रतिफल उपलब्ध गराउने उद्देश्यले लगानीका क्षेत्र विस्तार गर्नुका साथै प्रविधिमैत्री सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ।

सम्बन्धित समाचार