free website hit counter

नागरिक लगानी कोषको पूँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

beemaadmin
२०८३ मंसिर १०, बुधबार

काठमाडौं । नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ। साथै, कोषको लगानीको क्षेत्र विस्तार गर्दै निजी इक्विटी (प्राइभेट इक्विटी) र भेन्चर क्यापिटललगायतका नयाँ क्षेत्रमा समेत लगानी गर्न पाउने गरी कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको छ।

नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभाको अर्थ समितिमा भएको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।

Advertisement
Advertisement

अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेश र लगानीका नयाँ सम्भावनालाई ध्यानमा राख्दै नागरिक लगानी कोषको पूँजी, कार्यक्षेत्र तथा लगानीका उपकरण विस्तार गर्न संशोधन विधेयक ल्याइएको बताए। उनका अनुसार कोषलाई आधुनिक वित्तीय उपकरण र नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन कानुनी आधार तयार गर्न खोजिएको हो।

Advertisement
Advertisement

विधेयकमा कोषले निजी इक्विटी, भेन्चर क्यापिटललगायतका क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसका अतिरिक्त पूर्वाधार, उत्पादनमूलक उद्योग र आवास क्षेत्रमा पनि लगानी विस्तार गर्ने लक्ष्य राखिएको छ।

मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको अर्थमन्त्री वाग्लेले बताए।

विधेयकले कोषको संस्थागत संरचना र व्यवस्थापनमा समेत सुधार गर्ने लक्ष्य लिएको छ। सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने, संस्थागत सुशासन तथा पारदर्शिता बढाउने र जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने प्रस्ताव गरिएको छ।

विधेयकका प्रमुख प्रावधानबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले दफा २ मार्फत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गर्न खोजिएको बताए। यसक्रममा डिबेन्चर, ऋणपत्र तथा धितोपत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ। मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र र अन्य वित्तीय उपकरणलाई समेत लगानीको परिभाषाभित्र समेट्ने प्रस्ताव गरिएको छ।

कोषको पूँजी संरचनामा पनि उल्लेख्य परिवर्तन प्रस्ताव गरिएको छ। हाल ८ अर्ब रुपैयाँ रहेको अधिकृत पूँजीलाई बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव विधेयकमा छ। त्यस्तै, शेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्‍याउने र चुक्ता पूँजी ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

उनका अनुसार वित्तीय बजारको बदलिँदो स्वरूप, लगानीका नयाँ अवसर र अर्थतन्त्रको आवश्यकतालाई सम्बोधन गर्न नागरिक लगानी कोषसम्बन्धी विद्यमान कानुनी व्यवस्था समयानुकूल बनाउन आवश्यक छ। संशोधन विधेयकले कोषको लगानी क्षमता विस्तार गर्नुका साथै संस्थागत प्रभावकारिता र प्रतिस्पर्धात्मक क्षमता बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार