free website hit counter

नाफामा फर्कियो शिखर इन्स्योरेन्स

beemaadmin
२०८३ मंसिर १, सोमबार

काठमाडौं । शिखर इन्स्योरेन्स चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ।

Advertisement
Advertisement

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ८१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८ करोड १५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड ८६ लाख रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ६१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ९९ लाख रुपैयाँ थियो।

यसैगरी, कम्पनीको बीमा कोषको आकार पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिसम्म बीमा कोषमा १३ अर्ब १२ करोड ९७ लाख रुपैयाँ सञ्चित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोषमा ९ अर्ब ९३ करोड ५३ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको बीमा कोष ३२.१५ प्रतिशतले वृद्धि भएको छ।

बीमाशुल्क आर्जनमा पनि कम्पनीले सुधार गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ९९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। यससँगै कुल बीमाशुल्क आर्जन ९.९१ प्रतिशतले बढेको छ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.८० प्रतिशतले वृद्धि भएको छ। गत वर्षको असोजसम्म २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ८ लाख रुपैयाँ संकलन गरेको छ।

नाफामा भएको सुधारसँगै कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि सकारात्मक बनेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको ईपीएस चालु आर्थिक वर्षको असोजसम्म बढेर ५ रुपैयाँ ३० पैसा पुगेको छ।

कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०१.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ७४ पैसा कायम भएको छ।

सम्बन्धित समाचार