free website hit counter

नेपाली सेयर बजारमा देखिएको गिरावट

beemaadmin
२०७७ फाल्गुन १६, आईतवार

सराेज अधिकारी

नेपाली सेयर बजारले करेक्सनको बाटो समातेको छ । सेयर बजारमा लगानी गर्दा नाफै नाफा हुन्छ भन्ने मानसिकता बोकेका कतिपय लगानीकर्ताको लागि यो सिक्ने अबसर पनि हो । कोभिड–१९ का कारण भएको लकडाउन पश्चात् छोटो समयमा नै झण्डै १२०० को हाराहारीमा रहेको नेप्सेमा उल्लेख्य सुधार सहित नेप्से परिसूचकाङ्क २६४१.०३ को बिन्दूमा उक्लिएको हो ।

नेप्सेमा सतप्रतिशतभन्दा बढी बढोत्तरी पश्चात् केही करेक्सन हुन स्वभाविक नै हो । करेक्सनका लागि कुनै समाचारको पर्खाइमा रहेको बजार हाल राजनीतिक क्षेत्रमा देखिएको अन्यौल र ब्याजदरमा बढोत्तरीको खबरलाई आधार बनाएर ओरालो लाग्न सुरु गरेको हो । नेप्सेमा यस्तो करेक्सन केही महिना अझै रहन सक्ने विश्लेषकहरुको भनाईप्रति सहमत हुन सकिने आधारहरु थुप्रै छन् ।

तर समग्रमा नेपाली सेयर बजारमा बुलिस यात्रा नै सकिएको भने अवश्य पनि होइन । यस्तो करेक्सनको बेला राम्रा र भविष्यमा उचित प्रतिफल दिन सक्ने कम्पनीहरुमा लगानी गर्ने ठूलो अबसर पनि हो । त्यसैको खोजिमा लगानीकर्ताले आफूलाई लगाउनु पर्ने बेला हो यो । नेप्सेमा भएको करेक्सन ठूलो भने हुने देखिदैन उकालो लागेको नेप्सेका यात्रामा केही विराम र करेक्सन आए तापनि दुई हजारको बिन्दूबाट नेप्से तल आउने कुनै दरिलो आधारहरु भने देखिदैन ।

नेप्सेमा आएको करेक्सनका बेला पनि कतिपय कम्पनीहरुको सेयर मूल्यमा खासै गिरावट आएको छैन भने कतिपय भविष्यमा खासै प्रतिफल दिन नसक्ने कम्पनीहरुको बजार मूल्य अझै उच्च रहेको छ । तसर्थ समग्रमा नेप्सेमा आएको यस करेक्सनका बेला आफूसँग भएको कुन सेयर बेच्ने वा कस्तो कम्पनीमा लगानी गर्ने भन्ने कुराको निर्णय लिने उपयुक्त अबसर पनि हो अहिले ।

नेपाली सेयर बजारमा विगतमा पनि फागुन चैत महिनामा धेरै कम्पनीहरुको बोनस सेयर नगद लाभांश बाढिसकेको अवस्था हुने भएकोले बजारमा करेक्सन आउने गरेको इतिहास छ । अघिल्लो बर्ष त झन नेप्सेमा वियरिस ट्रेड कायम नै थियो त्यसमाथि पनि कोभिडका कारण लकडाउन भए पछि भने नेप्सेमा बढोत्तरीको कुरै भएन ।

कतिपय लगानीकर्ताले छोटो समयमा नै नाफा बुक गर्ने रणनीति लिदा बजारमा सेयरका आपूर्ति उच्च हुनु र त्यसको अनुपातमा खरिद कर्ता नहुनुले हप्ता दिनमा नेप्सेमा करिब १६७ अङ्कको गिरावट आइसकेको छ । अझ कति गिरावट आउने हो भन्ने कुरा भने लगानीकर्ताको मनोबल, अगामी राजनीतिक परिदृश्य र तरलताको अभावमा ब्याजदरमा आउने परिवर्तन (बढोत्तरी) नै प्रमुख कारक तत्व हुने निश्चित छ ।

सेयर बजार र ब्याजदरको सधै उल्टो सम्वन्ध रहने हुनाले कोभिडको न्यूनिकरण पश्चात् बजारमा लगानीको सम्भावनाहरु बढ्नुले तरलताको अभावमा हुने हो र सेयर कर्जा समेत महङ्गिने हो भने त्यसले सेयर बजारमा केही समय नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

आइतबार नेप्सेमा झण्डै ८० अङ्कको गिरावट सहित नेप्सेमा २४७४.३९ ओर्लिएको छ । सेयर बजारमा लगानी गर्नेले धैर्यता गुमाउनु हुँदैन । आफूले लगानी गरेको कम्पनीको प्रगति सही दिशामा छ भने प्रतिफल अवश्य पनि राम्रो हुन्छ भन्ने विश्वासका साथ बजारमा टिकिरहनेले कमाउने हो ।

यस्तो करेक्सनमा टिक्ने, राम्रो कम्पनीमा आफ्नो लगानी बढाउने अबसरको रुपमा लगानीकर्ताले लिदा राम्रो हुन्छ । नेपाली सेयर बजारले अझै चक्रका हिसाबले आगामी करिब तीन बर्ष ढुक्क भएर लगानी गर्ने वातावरण विद्यमान नै देखिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार