free website hit counter

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध

beemaadmin
२०८३ जेष्ठ २७, बुधबार

काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरूको छाता संस्था नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन्।

संघको नवौं तथा दशौं वार्षिक साधारण सभाबाट मुल आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन्। यसअघि उनले संघको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Advertisement
Advertisement

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ तथा कोषाध्यक्षमा नेको इन्स्योरेन्सका अध्यक्ष रमेश कुमार निरौला चयन भएका छन्।

Advertisement
Advertisement

त्यसैगरी कार्यसमिति सदस्यमा सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सञ्चालक पवन अग्रवाल रहेका छन्। साधारण सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको सम्मान गर्दै उनलाई कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा राख्ने निर्णयसमेत गरेको छ।

निर्जीवन बीमा क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका मुल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण स्वर्णपदकधारी हुन्। बीमा क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यावसायिक गतिविधिमार्फत उनले नेपालको आर्थिक क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै आएका छन्।

हाल उनी नेपाल कागज व्यवसायी संघका अध्यक्ष, नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य तथा नेपाल टेनिस संघका अध्यक्षसमेत रहेका छन्। उनी २०७९ फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीमा छन्।

अध्यक्ष पदमा निर्वाचित भएपछि मुलले नेपालको निर्जीवन बीमा क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा प्रतिस्पर्धी बनाउने दिशामा आफू प्रतिबद्ध रहने बताएका छन्। उनले बीमा व्यवसायको विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा सरोकारवालाबीचको सहकार्य सुदृढ बनाउन संघले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपाल निर्जीवन बीमा व्यवसायी संघ निर्जीवन बीमा कम्पनीहरूको साझा हित संरक्षण, समन्वय र व्यवसायिक विकासका लागि स्थापित प्रतिनिधिमूलक संस्था हो।

सम्बन्धित समाचार