काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनको तेस्रो महाधिवेशनले शम्भुप्रसाद मिश्र अध्यक्षमा निर्वाचित गरेको छ । सहायक निर्देशक मिश्र सर्वसम्मत चुनिएका हुन् । यसैगरी, उपाध्यक्षमा रञ्जिता केसी, महासचिवमा शिव प्रसाद खनाल, सचिवमा श्याम सुन्दर नगरकोटी, कोषाध्यक्षमा अनुराग पाण्डे, सदश्यहरुमा क्रमश प्रदीप गौतम, रोमिला शर्मा, खेमराज भण्डारी र राजेन्द्र खतिवडा निर्वाचित भएका छन् । कार्यसमितिले विधान बमोजिम २ जना सदश्य र ६ जना प्रदेश कार्यालय संयोजकको मनोनयन गर्नेछ । यूनियनका निवर्तमान अध्यक्ष पुर्ण बहादुर थापाले नयाँ कार्यसमितिलाई बधाई दिनुका साथै कर्मचारीको हकहितलाई अझ बुलन्द बनाउन आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सुर्य प्रसाद सिलावलको नियुक्ति सँगै बीमा क्षेत्रमा धेरै सुधार भएको उनले बताए । बीमा प्राधिकरणमा धेरै जना नयाँ कर्मचारीको नियुक्ति भएको भन्दै ऐन अनुसार कर्मचारी विनियमावली बनाउन जोडदार माग गरेका छन् । प्राधिकरणमा कर्मचारी युनियनको गठन सँगै बीमा क्षेत्रका कर्मचारीहरुले सार्वजनिक विदा पाउन थालेको दाबी छ । कार्यक्रमलाई संबोधन गर्दै नेपाल वित्तीय कर्मचारी संघका अध्यक्ष पदम राज रेग्मीले कर्मचारीका मुद्दा जहिले पनि कर्मचारी संघ संघठन सँग जोडिने भएकाले उच्च व्यवस्थापनले युनियनको साथ सहयोगमा काम गर्नु पर्ने बताए । बैंक वित्तीय संस्था र बीमा क्षेत्रमा भइरहेको मर्जरले कर्मचारीहरु पलायन हुने अवस्था सिर्जना भइरहेको भन्दै यस तर्फ विशेश ध्यान दिने अध्यक्ष रेग्मीले प्राधिकरणलाई आग्रह गरेका छन् । वित्तीय संस्थाका कर्मचारी यूनियनले आफुला व्यवसायिक रुपमा उभ्याउनु पर्ने रेग्मीको भनाइ थियो । उनले कर्मचारी यूनियनले कुनै राजनीतिक वादको पछाडी नदौडिकन व्यवसायिक रुपमा आफ्नो काम कारबाही अगाडी बढाउनु पर्ने बताए । नेपाल इन्स्योरेन्स कर्मचारी संघका अध्यक्ष भिम प्रसाद घिमिरेले नेपाल इन्स्योरेन्स कम्पनीको इतिहास नमर्ने गरी मर्जर गराउन आग्रह गरेका छन् । नेपाली बीमाको पहिलो इतिहास मेटाउने गरि मर्जरका काम कारबाही अगाडी नबढाउन उनले नेपाल बीमा प्राधिकरण समक्ष अनुरोध गरेका छन् । कम्पनीले नियामकिय चुक्ता पूँजी जुटाउन घर जग्गा बिक्री गरेर पैसा जुटाउने काम गरिरहेको भन्दै कम्पनीको अस्तित्व बचाइदिन आग्रह गरेका छन् ।