काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र उनका भारतीय समकक्षीबीच दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा विस्तृत छलफल भएको हो।
वार्तामा विकास साझेदारी, क्षेत्रीय तथा सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन सुविधा र ऊर्जा सहकार्यलगायतका विषय प्राथमिकताका साथ उठाइएको थियो। दुवै पक्षले नेपाल–भारत सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलका क्रममा नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, डिजिटल तथा वित्तीय प्रविधि र मानव स्रोत क्षमता अभिवृद्धिजस्ता नयाँ क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा पनि सहमति भएको छ। दुवै मन्त्रीले हालसम्म भएका उपलब्धिको समीक्षा गर्दै भविष्यमा सहकार्यलाई थप व्यापक बनाउने आवश्यकता औँल्याएका थिए।
यसैबीच, भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच व्यक्तिगत रकम स्थानान्तरण सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ व्यवस्थासँगै नेपाल र भारतबीच सीमापार डिजिटल कारोबारलाई थप सहज, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
वार्तापछि भारतले सन् २०१५ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा संरक्षण परियोजना नेपाललाई हस्तान्तरण गरेको छ। यी परियोजनालाई भारत–नेपाल विकास सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
दुवै देशले आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा पनि सन्तोष व्यक्त गरेका छन्। उक्त सम्झौताले सीमापार अपराध नियन्त्रण, अनुसन्धान र न्यायिक सहयोगलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
भ्रमणका क्रममा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त अवसरमा दुवै देशका परराष्ट्रमन्त्री साक्षीका रूपमा उपस्थित थिए।
परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्। गत मार्चमा नेपालमा नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको हैसियतमा भएको यो पहिलो भारत भ्रमण भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ।