काठमाडौं । नेपालको अग्रणी जीवमा बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासभित्र खुद बीमाशुल्क १७ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ रहेको थियो।
यस आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ करोड ८८ लाख रुपैयाँ अर्थात २२।४७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १ करोड ९८ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट ३ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले बीमालेख धितोमा १७ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरी ९८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ।
पुस मसान्तसम्ममा १३ लाख ३५ हजार ४६७ बीमालेख कायम रहेको यस इन्स्योरेन्सले १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले २६ हजार ४८३ दाबीबापत ५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने अझै १ अर्ब २९ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।
७ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ५ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।