काठमाडौं। नेपालको एकमात्र धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि औपचारिक रूपमा आवेदन आह्वान गरिएको छ। अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।
मन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिको निर्णयअनुसार प्रकाशित सूचनामा इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दर्ता गराउनुपर्ने उल्लेख गरिएको छ।
सूचनाअनुसार उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि, कानुन वा सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कम्तीमा १५ वर्षको कार्यअनुभव तथा त्यसमध्ये सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ।
आवेदन दिने उम्मेदवारको उमेर अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबारलगायत नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएका, कालोसूचीमा रहेका, विदेशी स्थायी आवासीय अनुमति (पीआर/डीभी/ग्रीन कार्ड) लिएका वा मानसिक रूपमा अयोग्य ठहरिएका व्यक्ति आवेदन दिन अयोग्य हुनेछन्।
उम्मेदवारले आवेदनसँगै नेप्सेलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने स्पष्ट दृष्टिकोणसहितको तीन प्रति खामबन्दी व्यवसायिक कार्ययोजना (बिजनेस एक्शन प्लान) पनि पेस गर्नुपर्नेछ।
आवेदनका लागि रु. ५ हजार दस्तुर तोकिएको छ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको अर्थ मन्त्रालयको राजस्व खातामा जम्मा गरी सक्कल भौचर आवेदनसँगै पेस गर्नुपर्नेछ।
छनोट समितिले उम्मेदवारको शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक कार्ययोजना तथा प्रस्तुतीकरणको मूल्याङ्कनपछि उपयुक्त व्यक्तिको नाम सिफारिस गर्नेछ। मन्त्रालयले आवश्यक परे कुनै पनि आवेदन कारण खुलाएर वा नखुलाई रद्द गर्न सक्ने जनाएको छ। झुट्टा विवरण वा कागजात पेस गरेको पाइएमा आवेदन रद्द हुनुका साथै प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।