काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक ७ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्दै नयाँ उपलब्धि हासिल गरेको छ।
कम्पनीले समीक्षा अवधिमा ७ अर्ब १० करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७९ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६ अर्ब ८ करोड ४५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।
त्यसैगरी, एक वर्षको अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी २४ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कुल बीमाशुल्क ९.९७ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीले नवीकरण बीमाशुल्कबापत १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा नवीकरण बीमाशुल्क १६ अर्ब ५० करोड ९२ लाख रुपैयाँ रहेको थियो, जसको तुलनामा ७.४६ प्रतिशत वृद्धि भएको हो।
कम्पनीले प्रथम बीमाशुल्क, नवीकरण बीमाशुल्क तथा कुल बीमाशुल्क तीनै सूचकमा उल्लेखनीय वृद्धि गर्दै जीवन बीमा व्यवसायमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको जनाएको छ।