free website hit counter

नौ महिनामा बीमा ‘सरेन्डर’ दर र निष्क्रिय बीमालेख दुवै घटे

beemaadmin
२०८३ बैशाख १६, बुधबार

काठमाडौं — चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो नौ महिनामा जीवन बीमामा सरेन्डर हुने पोलिसीको संख्या १४.१३ प्रतिशतले घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चैत मसान्तसम्मको ‘बीमा प्रतिबिम्ब’ प्रतिवेदनले यस्तो देखाएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा ८० हजार १८७ वटा बीमालेख सरेन्डर भएका थिए भने चालु आवमा यो संख्या घटेर ६८ हजार ८५५ मा सीमित भएको छ।

Advertisement
Advertisement

त्यसैगरी, सरेन्डरबाट बीमितले प्राप्त गर्ने रकम पनि ५.४२ प्रतिशतले घटेको छ। गत वर्षको पहिलो नौ महिनामा ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको थियो भने चालु वर्षमा यो रकम १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँमा झरेको छ।

Advertisement
Advertisement

सामान्यतः जीवन बीमा पाँच वर्ष वा सोभन्दा बढी अवधिका लागि गरिन्छ र बीमितले नियमित रूपमा बीमाशुल्क तिर्नुपर्छ। तीन वर्षपछि भने बीमालेख सरेन्डर गर्ने सुविधा हुन्छ, जसमा बोनससहित रकम फिर्ता पाइन्छ। तर कम्पनीले जोखिम व्यवस्थापन खर्च कट्टा गर्ने प्रावधान रहन्छ।

बीमा प्राधिकरणका अनुसार पछिल्ला वर्षमा आर्थिक गतिविधि सुधार हुँदै जाँदा नागरिकको आम्दानी पनि बढेकाले बीमालेख सरेन्डर गर्ने प्रवृत्ति घटेको हो। अघिल्ला वर्षहरूमा आर्थिक मन्दीका कारण धेरैले नगद आवश्यकताका लागि पोलिसी सरेन्डर गर्ने गरेका थिए।

यसैबीच, व्यतीत (नवीकरण नभएका) बीमालेख पनि १.६७ प्रतिशतले घटेका छन्। गत चैतसम्म १२ लाख ४६ हजार ३०१ वटा पोलिसी नवीकरण नभई बसेका थिए भने चालु वर्षमा यो संख्या घटेर १२ लाख २५ हजार ४५४ पुगेको छ।

तर, व्यतीत बीमालेखको कुल रकम भने २.३३ प्रतिशतले बढेर ३७ अर्ब ७३ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यो रकम ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ थियो।

नेपालमा हाल १४ ठूला र ३ लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन्। नियमित बीमाशुल्क नतिर्दा बीमालेख नवीकरण नहुने र त्यस्ता पोलिसीले बीमितको जोखिम पनि कभर नगर्ने व्यवस्था छ। यद्यपि, पछि बक्यौता तिरेर पुनः सक्रिय बनाउन सकिने सुविधा भने रहेको छ।

बीमा प्राधिकरणका अनुसार धेरै बीमितले न सरेन्डर गर्ने, न नवीकरण गर्ने जस्ता अवस्थाले पनि बजारमा संरचनागत चुनौती देखिएको छ।

सम्बन्धित समाचार