काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसँग छठ पर्व मनाउन जनकपुर जाने भएका छन्। उनीहरूले जनकपुरधामस्थित गंगासागरमा छठ पूजा गर्ने तयारी गरेका छन्।
शनिबार मध्याह्न हवाईजहाजमार्फत जनकपुर पुग्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। पछिल्लो समय पत्नी निकितासँग धार्मिक यात्रामा सक्रिय रहेका लामिछाने भारतको तीर्थाटनबाट फर्किएलगत्तै छठ मनाउन मधेस जान लागेका हुन्।
धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद रामविनोद यादवका अनुसार निकिताले यसपटक विधिपूर्वक व्रत बसेर छठ पूजा गर्ने तयारी गरेकी छन्। त्यसका लागि आवश्यक आवास तथा पूजाको व्यवस्थापन मिलाइएको छ।
छठको परम्पराअनुसार माटोको चुलोमा खीर पकाउने, भुइँमा सुत्ने र निराहार व्रत बस्नेलगायतका विधि पालना गरिनेछ। निकिताले पनि यी धार्मिक विधि पूर्ण रूपमा पालना गर्ने तयारी गरेको सांसद यादवले बताएका छन्।
गंगासागरमा हुने सूर्यदेवको पूजामा रवि पनि सहभागी हुनेछन्। सुरक्षा संवेदनशीलताका कारण निकिता बस्ने स्थान भने सार्वजनिक गरिएको छैन।
राजनीतिक भेटघाट पनि गर्ने
छठ पर्व मनाउन जनकपुर पुग्न लागेका लामिछानेले राजनीतिक भेटघाटलाई समेत प्राथमिकता दिने भएका छन्। सांसद यादवका अनुसार जनकपुर पुगेपछि उनले उद्योग वाणिज्य संघमा सम्बोधन गर्ने तथा प्रदेशका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ।
त्यसपछि जलेश्वर, मटिहानीलगायतका क्षेत्रमा पार्टी कार्यकर्ता तथा नेताहरूसँग भेटघाट गर्ने तयारी छ।
लामिछानेका लागि जनकपुरमा यात्री निवास र होटल पौवासहित दुई स्थानमा बस्ने व्यवस्था मिलाइएको रास्वपा नेताहरूले बताएका छन्। कार्यकर्ताको घरमा बस्दा अनावश्यक प्रचारबाजी र आलोचना हुन सक्ने भएकाले होटलको विकल्पसमेत तयार गरिएको उनीहरूको भनाइ छ।
रास्वपाका प्रवक्ता खरेलले सभापतिकै चाहनाअनुसार सामान्य घरमा बस्ने व्यवस्था गर्न खोजिएको भए पनि सुरक्षालगायत कारणले त्यसबारे अहिले सार्वजनिक नगरिएको बताएका छन्।