free website hit counter

पर्यटन व्यवसायी तथा समाजसेवी सुदामा कार्की क्षेत्री रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवार बन्दै

beemaadmin
२०८३ असार ८, सोमबार

काठमाडौं । पर्यटन व्यवसायी तथा समाजसेवी सुदामा कार्की क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

लामो समयदेखि पर्यटन व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय कार्कीले आफ्नो अनुभव, ज्ञान र नेतृत्व क्षमतालाई राजनीतिक माध्यमबाट राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।

कार्की पर्यटन क्षेत्रमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउँदै आएका व्यक्ति हुन्। उनी आत्मनिर्भर अर्थतन्त्र निर्माण, सुशासन प्रवर्द्धन तथा राज्यका सबै तहमा मितव्ययिता कायम गर्नुपर्ने पक्षमा दृढ रहेको बताउँछन्।

शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा समेत कार्कीको उल्लेखनीय योगदान रहेको छ। उनले विगत २५ वर्षदेखि गरिब, असहाय तथा अनाथ बालबालिकाको शिक्षा र संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

उनले सञ्चालन गरेको गोकर्णेश्वरस्थित विद्यालयमा २०० भन्दा बढी विद्यार्थीले कक्षा १० सम्म निःशुल्क अध्ययन गर्ने अवसर पाएका छन्। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ।

त्यसैगरी, गरिब तथा अनाथ बालबालिकाका लागि आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने अभियान सञ्चालन गरिएको छ, जसबाट देशका विभिन्न जिल्लाका विद्यार्थी लाभान्वित भएका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत कार्कीले गोरखाको साविक आर्खेत–थुमी गाविसस्थित स्वारागाउँमा ३० जना क्षमताको छात्रावास निर्माण गरी स्थानीय विद्यालयलाई हस्तान्तरण गरेका छन्। उक्त छात्रावासले दुर्गम क्षेत्रका विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गरेको छ।

देश तथा विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्ने समय आएको बताउँदै कार्कीले व्यवसाय र समाजसेवाबाट प्राप्त अनुभवलाई नीति निर्माण तथा राजनीतिक नेतृत्वमार्फत देश विकासमा प्रयोग गर्न चाहेको बताएका छन्।

देशका अधिकांश ग्रामीण क्षेत्रको भ्रमण गरिसकेका कार्कीले विश्वका ७० भन्दा बढी देशको भ्रमण गरेका छन्। विभिन्न मुलुकका विकास मोडेल, आर्थिक संरचना, पर्यटन प्रवर्द्धनका अभ्यास तथा सुशासनका अनुभवलाई नेपालमा लागू गर्न सकिने उनको विश्वास छ।

उनले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन, कृषि, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्दै युवामुखी, पारदर्शी र उत्तरदायी राजनीतिक संस्कृतिको आवश्यकता औँल्याएका छन्।

कार्कीले पार्टी संगठन सुदृढीकरण, वैकल्पिक राजनीतिको एजेन्डालाई संस्थागत बनाउने तथा जनतासँग प्रत्यक्ष जोडिने नीति निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार