काठमाडौँ । बाढी, पहिरो, भूकम्प लगातारको प्राकृकितक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोक जिल्लाले बुधबार बिहान ५ बजेर १९ मिनेट अर्को प्राकृतिक प्रकोपको सामना गर्नुपर्यो । यस वर्षको मनसुन शुरु भएसँगै ०७७ जेठ ३० पछि सिन्धुपाल्चोकमा १७ ठाउँमा बढी–पहिरो आयो । जसकारण ५५ जनाको मृत्यु भयो भने २३ जना अझै बेपत्ता छन् ।
देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको ६ रेक्टर स्केलको भूकम्प जाँदा त्यसको केन्द्रबिन्दू पनि सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ ।
सिन्धुपाल्चोकवासीले बाढीपहिरोदेखि भूकम्पको सामना गर्नुपरेको छ । ०७१ साउन १७ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरे पहिरोमा परेर १४५ जनाको मृत्यु भएको थियो । सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् । सिन्धुपाल्चोक २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको जिल्ला हो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको भूकम्पका कारण सिन्धुपाल्चोकबासीमा बुधबारको भूकम्पले थप त्रास बढेको छ ।
बुधबार बिहान आएको भूकम्पको कारण मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका थिए । भूकम्पको धक्कापछि बाह्रबिसेका स्थानीय डरले घरबाहिर निस्केर बसेका छन् ।भूकम्बाट राम्चेको चुल्ठेमा ढुङ्गामाटोबाट बनाइएका केही घरहरु चर्किएको बताइएको छ । भूकम्पको धक्का ठूलै भए पनि त्यसबाट भएको क्षतिको जानकारी कतैबाट आएको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकालले भूकम्पका कारण जमिन कमजोर भएको अनुमान गर्दै जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्ने निर्देशन दिएको बताए ।