काठमाडौं । सुनको मूल्य निरन्तर दोश्रो दिन सस्तिएको छ । बिहीबार सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको छ । चाँदी भने असार २३ गते, महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ । बुधबार पनि सुनको मूल्य तालामै एक हजार ६०० रुपैयाँले गिरावट भएको थियो । हिजो सुन प्रतितोला ९६ हजार रुपैयाँमा किनबेच भएको थियो । यसरी दुई दिनमा सुनको भाउ तोलामा तीन हजार रूपैयाँले गिरावट भएको छ । बिहीबार चाँदीको भाउ भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार १८५ रुपैयाँ पुगेको छ । यद्यपी अघिल्लो कारोबार दिन, चाँदी तोलामा ३० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २७५ रुपैयाँ कायम भएको थियो ।
असार लागेयता सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । यो महिना सुन प्रायजसो ९७ हजार रुपैयाँको हाराहारीमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकमा देखिन्छ । तर महिनाभरमा सुनको भाउ बिहीबार सर्वाधिक घटेको छ । यो महिनाकै कम मूल्यमा सुन यतिबेला कारोबार भइरहेको छ । बिहीबार सुन पाँच महिना यताकै सस्तो भएको हो । यसअघि माघ २८ गते, सुन प्रतितोला ९४ हजार रूपैयाँमा खरिदबिक्री भएको थियो । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजारमा मुल्य खस्किएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । महासंघका अनुसार विश्व बजारमा सुनको मुल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोज कुमार साहले अमेरिकी डलरको विनिमयदरमा भएको वृद्धिसँगै लगानीकर्ताहरु डलर तर्फ आकर्षित भई सुन विक्रीको चाप पर्न थालेपछि सुनको मुल्यमा कमी आएको बताएका छन् ।