free website hit counter

पाँच सचिवमा आउने यी हुन् नयाँ अनुहार

beemaadmin
२०७६ माघ २६, आईतवार

काठमाडौं । गृहसचिवमा महेश्वर न्यौपानेको सरुवासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश नं. १ का प्रमुख सचिव दिनेश घिमिरेलाई ल्याइयो भने सो स्थानमा सहसचिव दिनेश भट्टराईलाई बढुवा गरेर पठाइयो । सोही दिन चार जना सचिवहरुले अवकाश पाए पनि सरकारले बाँकी सहसचिवहरुलाई बढुवा गरेन । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा नियुक्ति गर्ने बताइएको छ । लामो समय प्रधानमन्त्री कार्यालयमै बिताएका अनिल ठाकृुरले पनि माघ २२ गतेबाट अवकाश पाए । सचिवमा बढुवा भएपछि आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएका ठाकुरकै पालामा आयल निगम जग्गा प्रकरण बाहिर आएको थियो ।

सोही प्रकरणपछि त्यहाँबाट सरुवा गरिएका ठाकुर महिला आयोग हुँदै प्रधानमन्त्री कार्यालयमा पुर्याइए । दुर्भाग्य नै भन्नुपर्छ उनको सरुवासँगै महिला आयोगमा सचिव पदको दरबन्दी काटियो । सहसचिव कर्मचारी प्रमुख हुने व्यवस्था गरियो । त्यस्तै गृहसचिव प्रेमकुमार राईले पनि सोही दिन अवकाश पाए पनि सरकारले गृहमा भने सरुवा गरिसकेको छ । उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य पनि अवकाश पाएका छन् । श्रम तथा रोजगार मन्त्रालयमा करिब ३ महिनामात्रै काम गर्ने अवसर पाएका आचार्यले सचिव कार्यकालभरि मन्त्रालय नपाउने अभागी सचिवको परिचय बनाए ।

प्रधानमन्त्री कार्यालयमा दुई पटक, महालेखा नियन्त्रण कार्यालय हुँदै उपराष्ट्रपति कार्यालय पुर्याइका आचार्य कम बोल्ने सचिवका रुपमा चिनिन्थे । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकी श्रीमती गायत्री नेपालका भाइ आचार्य पटक पटक कम्युनिष्ट पार्टीको सरकार बने पनि उनी ओझेलमै परिरहे । त्यस्तै गजेन्द्र ठाकृुर कुनै बेलाका कर्मचारी प्रशासनका चर्चित सचिव, मेलम्चीका ठेकेदारसँग रकम बार्गेनिङ गर्दै ठेकेदार भगाएको आरोप लागेका ठाकुरलाई सोही आरोपका कारण सरुवा गरेर नेपाल ट्रष्टको कार्यालय पुर्याइयो ।

सचिव बढुवासँगै भौतिक योजना मन्त्रालयमा केही समय बिताएका ठाकुर त्यसपछि शान्ति तथा पुननिर्माण मन्त्रालयमा २ पटक, खानेपानी मन्त्रालयमा २ पटक पुगेर सेवा गर्ने अवसर पाए । खरो र हेपाह व्यवहार प्रदर्शन गर्ने शैलीकै कारण पटक पटक सरुवामा पर्दै आएका र मन्त्रालयका कर्मचारी र मन्त्रीहरुले रुचाउँदैनथे । पछिल्लो समय ट्रष्टको सचिव रहँदा पनि यति होल्डिङ्स प्रकरणका कारण चर्चामा रहे । त्यस्तै अर्थसचिव राजन खनालले पनि अवकाश पाएका छन् । लामो समय अर्थ मन्त्रालयमा बिताएका खनाल अर्थबाटैं बिदा भए ।

सो स्थानमा सरकारले राजश्व सचिव शिशिर ढुंगानालाई सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट ल्याउँदैछ । यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीको बुधबारबाटै लागू हुने गरी राजीनामा स्वीकृत भइसकेको छ । बुधबार उनको बिदाईसँगै सो स्थानमा पनि सचिव खाली हुन पुगेको छ । जिसी विश्व खाद्य कार्यक्रमको क्षेत्रीय निर्देशकमा नियुक्ति भएपछि उनले सचिव पदबाट राजीनामा दिएका हुन् । कृषि मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ । पशु सचिवमा डा. प्रकाश माथेमा कार्यरत छन् । सरकारले जिसीको स्थानमा नयाँ सचिव नियुक्ति गर्ने वा दरबन्दी घटाएर एउटै सचिव मात्र राख्ने भन्ने निर्णय सोमबार गर्दैछ ।

यदि दरबन्दी काटियो भने माथेमाले नै कृषि मन्त्रालयको कर्मचारीको नेतृत्व सम्हालेछन् । उता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवमध्ये एक सचिव खगराज बराल कार्यरत छन् भने अर्का सचिव डा. पुष्पा चौधरीको राजीनामा स्वीकृत भइसकेको छ । चौधरीको स्थानमा ११औं वा १२औं तहका चिकित्सकमध्येबाट एक जनालाई बढुवा गर्नुपर्ने छ । त्यसो हुँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको रोजाईमा डा. रोशन पोखरेल परेका छन् । उनलाई १२औं तहको बढुवाका लागि समेत सिफारिश गरिसकिएको छ । केही दिनअघि बढुवा समितिले मन्त्रालयका ३ प्रमुख विशेषज्ञ पदमा ५ जनाको सिफारिश गरिसकेको छ ।

त्यहीमध्येबाट एक जनालाई सचिव बनाउने र बाँकी चारमध्ये तीन जनालाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्ने मन्त्रिपरिषद्को तयारी छ । यसो हुँदा डा. दिपेन्द्ररमण सिंह, डा. भीमसिंह टिंकरी, डा. महेन्द्रप्रसाद श्रेष्ठ १२औं तहमा बढुवा हुने पक्कापक्की जस्तै छ । रिक्त तीन प्रशासनिक सचिवमा एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनी नियुक्त हुनेछन् । अर्याल कोलकातास्थित महावाणिज्य दूतका रुपमा कार्यरत छन् भने पाण्डे प्रदेश नं. ५ को मुख्यमन्त्री कार्यालयमा कार्यरत छन् । पुडासैनी केही समय अघि पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीलाई फर्काएर उनको स्थानमा मिसनमा गएका सहसचिव हुन् । अर्थ मन्त्रालयमा लामो समय बिताएका र कम्युनिष्ट प्रशासकहरुको रोजाइमा परेका पुडासैनी सचिव हुनेबित्तिकै राजश्व सचिवमा लगिने छ । त्यसैगरी प्राविधिक सचिव पदमा भने सागर राई बढुवा हुँदैछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार