काठमाडौं । चुक्ता पुँजी वृद्धिको निर्णय नियाम निकाय बीमा समितिले गरेपछि बीमा कम्पनीहरुलाई दबाव सिर्जना भएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रुपैयाँ तोकिदिएको छ। यस्तो न्यूनतम पुँजी चालु आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा पु¥याउने गरी एक महिनाभित्र क्यापिटल प्लान समेत पेश गर्न समितिले बीमा कम्पनीहरूलाई निर्देश दिइसकेको छ । बीमा कम्पनीहरूको पुँजी कम र दायरा तथा दायित्व चाहिँ बढ्दै गएको भन्दै बीमा कम्पनीहरूलाई बलियो बनाउनकै लागि पुँजी वृद्धि नीति ल्याइएको बीमा समितिका अध्यक्ष सूर्यराज सिलवालले बताएका छन् । अध्यक्ष सिलवालले लामै गृहकार्यपछि आएको यो निर्णय कुनै पनि हालतमा लागू गर्ने बताएका छन् । तत्काल कुनै नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नहुने बताउँदै तोकिएको अवधिभित्र चुक्तापुँजी वृद्धि योजना ल्याउन र पु¥याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्
। संख्यात्मक वृद्धि भएपनि बीमा कम्पनीहरूको गुणात्मक वृद्धि हुन नसकेकाले पुँजी वृद्धि नीति बीमा कम्पनीहरूको संख्या घटाउनकै लागि ल्याइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाई छ ।
हाल दर्तामा रहेका १८ वटा जीवन बीमा कम्पनी र १८ वटै निर्जीवन बीमा कम्पनीहरूमध्ये एउटामात्र कम्पनीको तोकिएको न्यूनतम चुक्तापुँजी पुग्ने देखिन्छ । जीवन बीमातर्फ हाल ५ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पु¥याउने एउटामात्र कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको कुल चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको छ । यो समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा २ अर्ब १९ करोड माथिले नै बढी हो । बाँकी अन्य १७ वटा कम्पनीहरूको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ तल नै छ । निर्जीवन बीमा कम्पनीहरूतर्फ भने एउटैको चुक्ता पुँजी पुग्ने देखिदैन । कुल १८ निर्जीवन कम्पनीहरूमध्ये सबैको चुक्ता पुँजी २ अर्ब रुपैयाँभन्दा तल नै रहेको छ । निर्जीवनतर्फ सबैभन्दा बढी पुँजी भएको शिखर इन्स्योरेन्सको समेत जम्मा १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको छ । यहीँ कम्पनीलाई पनि तोकिएको चुक्ता पुँजी पु¥याउन थप २१ करोड ३९ लाख १८ हजार रुपैयाँ चाहिने देखिन्छ ।