free website hit counter

पूँजीगत लाभ कर परिवर्तन भएको छैन : आन्तरिक राजस्व विभाग

beemaadmin
२०८० जेष्ठ १८, बिहीबार

काठमाडौं । लगानीकर्ताको आन्दोलनको तयारीमा जुटेपछि आन्तरिक राजस्व विभागले धितोपत्र कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । विभागले आर्थिक विधेयक, २०८० को दफा २९ लाई थप प्रष्ट पारेको हो। आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त हुन आएकोले थप स्पष्ट पारिएको विभागले जनाएको छ । मन्त्रिपरिषदले पारित गरेको, बजेट बक्तब्य, आर्थिक विधयेकमा उल्लेख भएको र संसदको सम्पति बनिसकेको दस्तावेजमा उल्लेख भएको कुरा आन्तरिक राजश्व विभागको बक्तब्यले काट्न सक्दैन । पूँजीगत लाभकर बढाएको भन्दै लगानीकर्ताहरुले बिहीबार कमलपोखरीमा जम्मा भएर विरोध गर्दैछन् । त्यसलाइ रोक्ने उदेश्यले विभागले यस्तो सूचना जारी गरेको लगानीकर्ताहरुको भनाइ छ।

लगानीकर्ताको बुझाई गलत : महानिर्देशक मैनाली
लगानीकर्ताले शेयर कारोबारमा तिरिरहेको अल्पकालमा साढे ७ प्रतिशत र दीर्घकालमा ५ प्रतिशत कर नै अन्तिम कर भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताएका छन् । नेपाल इन्भेष्टर फोरमका पदाधिकारसँगको भेटमा महानिर्देशक मैनालीले लगानीकर्ताले अहिले तिरेको अल्पकालीन र दीर्घकालीन लाभ कर नै अन्तिम कर भएको बताएको फोरमका अध्यक्ष तुलसीराम ढकालले मैनालीसँगको भनाई उदघृत गर्दै बताए । लगानीकर्ताहरुले शेयर कारोबारको लाभमा कर तिरे पनि पछि फेरि आय कर ऐनको स्लाब अनुसार कर तिर्नुपर्ने आँकलनका कारण बजार घटेको जानकारी गराएका थिए । बजेट लगत्तै भएको २ कारोबार दिनमा शेयर बजार झन्डै १ सय अंकले घटिसकेको छ । लगानीकर्ताले शेयर बजारबाट गरेको आम्दानीमा पुनः आयकर ऐन अनुसार अधिकतम ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने बुझाइसँगै शेयर बजार घटेको थियो । लगानीकर्ताको कुरा ध्यानपूर्वक सुनेपछि महानिर्देशक मैनालीले पटक पटक दोहोर्याएर लगानीकर्ताको बुझाई गलत भएको बताएका थिए । आयकर ऐन २०५८ उल्लेख गरेर व्यक्तिलाई पनि कर तिर्न उर्दी जारी गरेको प्रसंगमा भने शेयर कारोबारबाट आर्जित सम्पत्तिको अन्तिम कर नै अल्पकालको लागि साढे ७ प्रतिशत र दीर्घकालको लागि ५ प्रतिशत हो भनेर समेत स्पष्ट पारेको उनले बताए । लगानीकर्ताको दुविधा नै अहिले तिरेको लाभकर अन्तिम हो वा होइन भएको स्मरण गराउँदा पनि मैनालीले अन्तिम कर नै भएको पटक पटक दोहोर्याएर भनेको मेरो लगानीलाई फोरमका अध्यक्ष ढकालले भने । लगानीकर्ताले पुँजीगत लाभ कर बापत् तिरेको कर नै अन्तिम कर भएको लिखित रुपमा दिन आग्रह गर्दा भने महानिर्देशक मैनालीले सरोकारवाला मन्त्रालयसँगको समन्वयमा सार्वजनिक रुपमा जानकारी गराइने बताएका थिए ।

सम्बन्धित समाचार