free website hit counter

पूँजी वृद्धिको समय सकियो, कति बीमकले पुर्याए पुँजी ?

beemaadmin
२०८० बैशाख १, शुक्रबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी बढाउन दिएको समयसीमा चैत ३० गते बिहीबारदेखि सकिएको छ । बीमा प्राधिकरणले गत चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै पूँजी बढाउन निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशन अनुसार बिहीबारसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । तर पनि अझै अधिकाँश बीमा कम्पनीहरुले तोकिएको न्युनतम पूँजी पुर्याउन सकेका छैनन् । हाल जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएको छ । नेपाल लाइफको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यो प्राधिकरणले तोकिएको ५ अर्ब रुपैयाँ भन्दा ३ अर्ब २० करोड रुपैयाँले बढी हो । यता निर्जीवन बीमा तर्फ पनि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । हाल सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड रुपैयाँ, शिखरको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ र सगरमाथा इन्स्योरेन्सको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। यस्तै मर्जरमा जाने सम्झौता भएका बीमा कम्पनीहरुलाई भने थप एक वर्ष पूँजी थप्न दिने प्राधिकरणले जनाएको छ । त्यस अनुसार मर्जर पश्चात पनि न्युनतम चुक्ता पूँजी कायम गर्न नसक्ने कम्पनीहरुलाई बाध्यात्मक अवस्था भने छैन् । यस्तै पूँजी वृद्धिको योजना पेश गरेका बीमा कम्पनीहरुलाई पनि तत्काल पूँजी वृद्धिको लागि दवाव नरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मेरो लगानीलाई जानकारी गराए । अधिकाँश बीमा कम्पनीहरुले मर्जरमा गइसकेका छन् । मर्जर पश्चात एकिकृत कारोबार थाल्दा समेत न्युनतम चुक्ता पूँजी पुर्याउन नसक्ने जीवन बीमा कम्पनीहरुमा सूर्याज्योति लाइफ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन् । सूर्यज्योतिको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफको ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । दुबै कम्पनीले नपुग पूँजी बराबरको हकप्रद शेयर निष्काशन गर्नेछन ।
जीवन बीमा तर्फ प्रभु लाइफ र महालक्ष्मी लाइफ, युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता गरेका छन् । प्रभुसँग मर्जर सम्झौता गरेको महालक्ष्मी लाइफले मर्जर अघिनै प्रिमियन मूल्यमा आईपीओ निष्काशन गरेर पूँजी थप्ने तयारी गरेको छ । यस्तै युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर पश्चात बन्ने हिमालयन लाइफको चुक्ता पूँजी भने ७ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ । चुक्ता पूँजीको आधारमा जीवन बीमा कम्पनीहरु तर्फ नेपाल लाइफपछि हिमालन लाइफ दोस्रो हुनेछ । मर्जर सम्बन्धि सम्झौता नगरेको नेशनल लाइफको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ, एलआइसी नेपालको २ अर्ब ६५ करोड, एशियन लाइफको २ अर्ब ९० करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
नेशनल लाइफले हकप्रद वा बोनस शेयर वितरण गरेर न्युनतम पूँजी पुर्याउन योजना प्राधिरणमा पेश गरेको छ भने एलआईसी नेपालले शत प्रतिशत हकप्रद निष्काशन गर्दैछ । एशियन लाइफ र राष्ट्रिय बीमा संस्थानले पनि पूँजी वृद्धि योजना अनुसार अघि बढ्ने प्राधिकरणको भनाइ छ । यस्तै, सिटिजन लाइफको २ अर्ब ६२ करोड, सन नेपाल लाइफको २ अर्ब २४ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ८० करोड र आइएमई लाइफको २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएका छन् । प्रिमियम मुल्यमा आईपीओ निष्काशन गरेर चार वटै कम्पनीले न्यूनतम चुक्ता पुँजी पुर्याउने छ । यता निर्जीवन बीमा तर्फ भने तीन वटा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । हालसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका हुन् । यस्तै मर्जरमा गएपछि न्युनतम चुक्ता पूँजी पुर्याउन नसक्नेमा सानिमा जिआईसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यी दुबै कम्पनीले पनि हकप्रद शेयर निष्काशन गरेर न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी गरेका छन् ।
अजोड इन्स्योेरेन्स र युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स भने मर्जर प्रकृयामा रहेका छन् । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर भएर बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पूँजी भने निर्जीवन बीमा कम्पनीहरुमा सबै भन्दा धेरै हुनेछ । दुई कम्पनीबीच मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । अजोड इन्स्योेरेन्स र युनाइटेड इन्स्योरेन्सले भने मर्जर पश्चात पनि प्राधिकरणले तोकिएको पूँजी नपुगे हकप्रद निष्काशन गर्नेछ ।

सम्बन्धित समाचार