free website hit counter

पूर्वप्रधानन्यायाधीश जबराले मागे आफ्नो र परिवारको सुरक्षा

beemaadmin
२०८३ आश्विन १२, सोमबार

काठमाडौं । पक्राउ परेर छुटेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो र परिवारको शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएका छन्।

जबराका छोरा सचिन्द्र शमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा दिएको निवेदनमा देशको अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासम्बन्धी विषयका कारण आफू र परिवारमाथि सुरक्षा चुनौती बढेको उल्लेख गरिएको छ।

निवेदनमा जबराले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिका प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको उल्लेख गरेका छन्। निवास, परिवार र जिउज्यानको सुरक्षामा राज्यको ध्यान पुग्नुपर्ने उनको माग छ।

शनिबार राति करिब २ बजे निवासबाट पक्राउ परेका जबरालाई प्रहरीले आइतबार दिउँसो घरमै लगेर छाडेको थियो। प्रहरीले उनको सुरक्षाका लागि पक्राउ गरिएको दाबी गरे पनि उनीबाट कसलाई वा कुन समूहबाट खतरा रहेको भन्ने स्पष्ट खुलाएको छैन।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी शुशीलसिंह राठौरका अनुसार सुरक्षा मागसम्बन्धी निवेदन आएपछि सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ। जबरालाई धम्की दिने समूहबारे समेत अनुसन्धान भइरहेको उनले बताएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने आफ्नो कार्यालयमा हालसम्म कुनै निवेदन नआएको बताएका छन्।

सम्बन्धित समाचार