free website hit counter

पूर्वराज्यमन्त्रीको हत्या गर्न अग्रिम २ लाख

beemaadmin
२०८१ श्रावण १५, मंगलवार

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या छिमेकीको योजनामा उनकै घरमा काम गर्ने युवकबाट भएको खुलेको छ। रायको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई सार्वजनिक गरेको छ। वीरेन्द्र राय रामचन्द्रकै छिमेकी हुन् भने राम उजैन उनकै घरमा काम गर्थे। वीरेन्द्र र रामचन्द्रको जग्गा सम्बन्धी विवाद थियो। सोही जग्गा आफ्नो बनाउन उनले पूर्वमन्त्रीकै घरमा काम गर्ने युवकलाई प्रयोग गरेको सर्लाही प्रहरीले दाबी गरेको छ। हत्या गरे बापत राम उजैनलाई दुई लाख रुपैयाँ र उक्त जग्गामा एउटा फार्महाउस खोलिदिने आश्वासन दिएको खुलेको जिल्ला प्हरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले बताए। मलङ्गवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रायको साउन ७ गते राति चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा हत्या भएको थियो। धान रोपाईँ गर्न उनी रतनपुर पुगेका थिए। धारिलो हतियार दाउले टाउको विभिन्न भागमा प्रहार गरी सुत्ने कोठमा हत्या गरिएको थियो। हत्यापछि राम उजैनले नै खबर गरेका थिए। उनले सुरुमा प्रहरीलाई तीन जना व्यक्ति राति आएको र उनीहरुले जग्गा सम्बन्धी विषयमा छलफल गरेको बताएका थिए। तर राति १ बजेतिर उक्त कोठामा जाँदा मृतक फेला पारेको बताएका थिए। उनले आफ्नो संलग्नता नरहेको र आफूले घटना बारे पछि मात्रै थाहा पाएको बताए पनि प्रहरीले सोही दिन उनलाई पक्राउ गरेको थियो। हत्यामा प्रयोग गरिउको दाउ र उनले हत्या गर्दा लगाएका लुगा पनि रगत लागेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। ती सामान परक्षिणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। रतपुरमा रामचन्द्रले बनाएको दुईकोठे फार्म हाउसको जग्गा आफ्नो भएको छिमेकी वीरेन्द्र रायले दाबी गर्दै आएका थिए। राम उजैनले पनि आफूलाई रकम दिने र एउटा फार्म हाउस खोलिदिने आश्वासन दिएको र उक्त जग्गा आफ्नो रहेको भनि वीरेन्द्रले नक्साको भिडिओ समेत बनाएको देखाएको बताएका छन्। रामचन्द्रको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसन्धान अधिकारीहरु खटिएका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार