free website hit counter

पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो, धादिङ प्रशासनले सवारी आवागमन रोक्यो

beemaadmin
२०८३ आश्विन ९, शुक्रबार

काठमाडौं । निरन्तरको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न सात ठाउँमा पहिरो खसेपछि सडक यातायात प्रभावित भएको छ। पहिरोका कारण दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य स्थानमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ।

धादिङको कृष्णभीरमा रातिदेखि नै पहिरोसँगै ढुंगा खसिरहेको छ। सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भइरहेको छ। पहिरोका कारण सडकको तल्लो भागसमेत भासिन थालेको बताइएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभीरमा पहिरो खसेको छ।

पहिरोका कारण राजमार्गमा सवारी आवागमन जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्म राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएको जनाएको छ।

प्रशासनले यात्रुलाई जोखिम मोलेर यात्रा नगर्न तथा सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार