काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बाहिरी हल्लाजस्तो जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकलाई तत्काल शीघ्र सुधारात्मक कारबाही नगर्ने भएको छ । प्रारम्भिक अध्ययनका क्रममा यी दुई संस्थाको वित्तीय अवस्था अहिले नै शीघ्र सुधारात्मक कारबाही गरिहाल्नुपर्ने खालको अत्यन्त खराब नदेखिएको र यी दुवै संस्थाको व्यवस्थापन तथा सञ्चालक समितिलाई केही समय दिएर मात्र निर्णयमा पुग्ने सहमति बनेको नेपाल राष्ट्रबैंकको सञ्चालक समितिमा सहमति बनेको हो । केन्द्रीय बैंकका एक सञ्चालककाअनुसार केही दिनअघिको बैठकमा तीनवटा वित्तीय संस्थाको विषयलाई अजेण्डा बनाइएको थियो । जसमा पोखरा फाइनान्स, जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंक रहेका थिए । सअघि कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी त्यसको व्यवस्थापन केन्द्रीय बैंकले टेकओभर गरिसकेको छ । थप वित्तीय संस्थाहरुको अवस्था समेत नाजुक देखिएको भन्दै सञ्चालक समितिमा अन्यलाई के गर्ने भन्ने अजेण्डा पेश भएको थियो । बैठकमा पेश भएका तीन वित्तीय संस्थाको अजेण्डामा पोखरा फाइनान्सको अवस्था निकै नाजुक देखिएको र तत्कालै शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने देखिएको निश्कर्ष निकालिएको थियो । पोखरा फाइनान्सलाई तत्कालै टेकओभर गर्नुपर्ने अवस्था देखिएपछि तीव्र गतिमा कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बुझिएको छ । राष्ट्रबैंकको सञ्चालक समितिमा भएको सहमतिअनुसार पोखरा फाइनान्सलाई १५ दिनको समय दिएर शीघ्र सुधारात्मक कारबाही किन नगर्ने भन्दै लिखित जवाफ मागिएको छ । स्पष्टीकरण प्राप्त भएपछि शीघ्र सुधारात्मक कारबाही गर्ने राष्ट्रबैंकको तयारी छ । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खराब कर्जा अनुपात १४।४४ प्रतिशत रहेको रिपोर्ट प्रकाशित गरेको थियो । तर, वास्तविकतामा खराब कर्जा अनुपात ४० प्रतिशत हाराहारीमा पुगिसकेको राष्ट्रबैंक स्रोतले जनाएको छ । रिपोर्टमा पुँजीकोष अनुपात १०.९९ प्रतिशत रहेको देखाइए पनि वास्तविकतामा ऋणात्मक देखिएको छ । पोखरा फाइनान्सले विगतदेखि नै कर्मचारीहरुको तलब, सेवासुविधा र खर्चहरुमा तडकभडक गर्दै आएको छ । त्यहाँका कर्मचारीहरुको तलब केही वाणिज्य बैंकका कर्मचारीहरुको भन्दा पनि धेरै रहेको अध्ययनको क्रममा देखिएको समेत स्रोतले जनाएको छ । ‘कर्मचारीको तलबभत्तामा जथाभावी वृद्धि गरिने गरिएको रहेछ । सञ्चालकहरुले भत्ता र सुविधामा समेत मनमौजी गरेको देखियो ।