एजेन्सी । क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको आधिकारिक अकाउन्टबाट एक मोडलको तस्बिर लाइक भएपछि हंगामा मच्चिएको छ । वास्तमा, पोपको इन्स्टाग्राम अकाउन्टबाट ब्राजिलकी मोडल नतालिया गेरिबोतोको एक तस्बिर लाइक भएको थियो । भेटिकनले आखिर यस्तो कसरी भयो भनेर उनीसँग स्पष्टिकरण मागेको छ ।
भेटिकनले आफूले यो मामिलामा अनुसन्धान गरिरहेको जानकारी दिएको छ । पोपको अकाउन्टबाट नतालियोको कम कपडा लगाएको तस्बिर कहिले लाइक गरिएको थियो भनेर स्पष्ट छैन ।
नतालियाको जुन तस्बिर पोपको अकाउन्टबाट लाइक गरिएको थियो, त्यसमा उनले स्कूलको युनिफर्मजस्तो मिल्दो जुल्दो ड्रेस लगाएकी थिइन् । यो घटनामा भेटिकनका अधिकारीले हैरानी जताएका छन् ।
यस्तै नतालियाको म्यानेजमेन्ट कम्पनीले भने ‘पोपद्वारा लाइक गरिएको तस्बिर’ लाई ‘आफूहरुले आधिकारिक रुपमा पोपको आशिष पाएको’ बताएको छ । ब्राजिलियन मोडल नतालिया गेरिबोतोको इन्स्टाग्राममा २४ लाख फलोअर्स छन् । यसैबीच नतालियाले लेखेकी छिन्, ‘म त अब पक्का स्वर्ग जानेछु ।’
भेटिकनले केही मानिसहरुको समूह मिलेर पोपको आधिकारिक सोसल मिडिया पेज सम्हाल्ने जानकारी दिएको छ ।
पोप फ्रान्सिस पनि सोसल मिडियामा निकै लोकप्रिय छन् । इन्स्टाग्राममा उनका ७४ लाख फलोअर्स छन् र पोपको आधिकारिक अकाउन्टबाट कसैलाई पनि फलो गरिएको छैन । भेटिकनका अनुसार पोप आफैंले भने कुनै पनि सोसल मिडिया अकाउन्ट सञ्चालन गर्दैनन् ।