free website hit counter

प्रधानमन्त्रीको सपना पूरा गर्ने कार्यालय नै खाली

beemaadmin
२०७६ पुष १, मंगलवार

काठमाडौं । पानी जहाज कार्यालय गत भदौ १ गतेदेखिनै प्रमुख विहीन रहेको छ । कार्यालयमा प्रमुख राजपत्रांकित प्रथम श्रेणी (सहसचिव मेकानिकल इञ्जिनियर) प्रमुख हुने व्यवस्था छ । कार्यालय प्रमुख रजिष्टार प्रथम श्रेणीको हुने उक्त कार्यालयमा कार्यालय स्थापना हुँदा सहसचिव ऋषि कोइरालाले प्रमुखको भूमिका निर्वाह गरेका थिए । तर गत भदौ १ गतेबाट अनिवार्य अवकाशमा कोइराला परेपछि उक्त कार्यालय अहिले निमित्तका भरमा सञ्चालन भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतकाअनुसार उक्त कार्यालयमा रजिष्टारसहित १६ जना कर्मचारीको दरबन्दी रहने व्यवस्था छ ।

रजिष्टार मात्रै होइन मुख्य मुख्य काम गर्ने पदमा समेत जनशक्ति नहुँदा कार्यालयले जसोतसो आफ्नो भूमिका निर्वाह गरिरहेको छ । ऐन–नियम, नियमावली लगायतका कानुनी भूमिकामा बढी केन्द्रीत हुनुपर्ने कार्यालयमा कानुन अधिकृतको दरबन्दी भए पनि सरकारले स्थायी प्रकृतिको कर्मचारी व्यवस्थापन नगर्दा उक्त कार्य गर्न सकस परिरहेको छ । कानुनको उक्त दरबन्दीमा कार्यालय स्थापनाताका भन्सार विभागमा कार्यरत कानुन अधिकृत उत्तम गौतमलाई कामकाज गर्ने गरी तोकिएको थियो । तर उनी भन्सारमा बढी व्यस्त हुने पानी जहाज कार्यालयमा भने महिना महिनामा पेट्रोल लिन मात्रै उपस्थित हुने गरेका कारण उनीबाट पनि कार्यालयले खासै काम लिन नसकेको कार्यालय स्रोतले बताएको छ । करिब तीन महिनादेखि भने उनी कार्यालय आउनै छाडेको बताइन्छ ।

त्यसपछि सरकारले कानुन अधिकृतमा मञ्जु पोखरेललाई कामकाजका लागि पठायो । उनी पनि एक महिनाजति आइन्, त्यसपछि अन्यत्रै गइन्, कार्यालयका एक कर्मचारीले बताए । सोमबार मात्रै कानुन मन्त्रालयबाट यातायात व्यवस्था विभागमा कार्यरत रामबहादुर चन्दलाई कानुन अधिकृतका रुपमा कामकाज सञ्चालन गर्न पठाइएको छ । दरबन्दी विभागमै रहने भएका कारण उनी पनि कहिले आउने हुन् र आए पनि कतिदिन रहने हुन् भन्ने निक्र्योल हुन नसक्दा अन्योल कायमै छ । कानुन अधिकृतमात्रै होइन पाँच जना इञ्जिनियरिङ समूहका कर्मचारी रहने उक्त कार्यालयमा अहिले दुई जना मात्रै बिपिन राजभण्डारी र राजन प्रधान मात्रै छन् । रजिष्टार पनि इञ्जिनियरिङ समूहकै रहने हुँदा उनी समेत गरी हाइवे र सिञ्चाईं इञ्जिनियरको दरबन्दी रिक्त छ । जबकि कार्यालयलाई यिनै कर्मचारीहरुको बढी भूमिका र आवश्यकता छ ।

सिञ्चाई इञ्जिनियर सन्दिपा राई त्यस कार्यालयमा हाजिर हुन गइन् तर केही दिनपछि ऊर्जा तथा सिञ्चाई मन्त्रालयले उनलाई अन्यत्रै सरुवा ग¥यो । रमाना समेत नलिईकन उनी सरुवा भएको स्थानमा हाजिर भइन् । यसमा कसैले कारबाही गर्न आवश्यक ठानेन । यतिमात्रै होइन प्रशासन समूहको नासु पद पनि खाली नै छ । इञ्जिनियर, कानुन र प्रशासन तीनै तहका कर्मचारी रिक्त हुँदा पनि सेवा सञ्चालन गर्ने मन्त्रालयले पदपूर्ति गर्न सकेको छैन । कर्मचारीलाई खासै इन्सेन्टिभ नहुने हुँदा सिंहदरबारबाट ५÷७ किलोमिटरको दुरीमा रहेको उक्त कार्यालयमा कर्मचारी आउनै नमान्ने, आए पनि बस्दै तुरुन्तै अन्यत्र सरुवा माग्ने प्रवृत्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्टका रुपमा चर्चा गरिएको उक्त कार्यालय सरकार र कर्मचारीको उपेक्षामा परेको छ ।

सडकका कर्मचारीलाई चलाउनै फुर्सन नहुने तालुकदार मन्त्रालय (भौतिक पूर्वाधार) र सिञ्चाई र विद्युत प्राधिकरणलाई हेरेरै फुर्सद नहुने ऊर्जा तथा जलश्रोत मन्त्रालयका मन्त्री र सचिवलाई पानी जहाज कार्यालयमा रिक्त रहेका कर्मचारी पूर्ति गर्ने फुर्सद कहिले होला ? कि यसका लागि पनि प्रधानमन्त्रीले नै निर्देशन दिनुपर्ने हो ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ गत फागुन महिनामा उद्घाटन गर्नुभएको पानीजहाज कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी पूर्ति नगर्ने हो भने आउने फागुन महिनासम्म कार्यालय नरित्तेला भन्न सकिन्न । अहिले भएको जनशक्तिले जसोतसो कानुन निर्माण लगायतका कामहरु गरिरहेको छ । जुन भएको जनशक्ति र श्रोतको तुलनामा सन्तुष्टि नै मान्नु पर्ने अवस्था छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार