काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा चालु आर्थिक वर्षको लक्ष्य हासिल गर्ने रणनीतिसम्बन्धी विशेष कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ।
कम्पनीका अनुसार कार्यक्रममा १५० भन्दा बढी अभिकर्ता तथा अभिकर्ता लिडर्सको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य अभिकर्ताको क्षमता विकास, व्यवसाय विस्तारका रणनीति तय गर्नुका साथै चालु आर्थिक वर्षको लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजना निर्माण गर्नु रहेको बताइएको छ।
कार्यक्रममा कम्पनीको केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा. योगेन्द्र खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने प्रदेश प्रमुख सुदीश कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियो। बिर्तामोड शाखा प्रमुख नानीबाबु आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।
त्यसैगरी इलाम शाखा प्रमुख प्रवेश पराजुली, चन्द्रगढी शाखा प्रमुख गिरवान भट्टराई, दमक शाखा प्रमुख जीवा राई लगायत शाखा प्रमुखहरूको समेत सहभागिता रहेको थियो।
प्रशिक्षण कार्यक्रममा जीवन बीमा व्यवसायको वर्तमान अवस्था, बजार विस्तारका अवसर, व्यवसायिक लक्ष्य प्राप्तिका रणनीति, नेतृत्व विकास तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिजस्ता विषयमा विस्तृत प्रस्तुति र छलफल गरिएको थियो। सहभागीहरूबीच अनुभव आदानप्रदान गर्दै प्रभावकारी व्यवसायिक योजना निर्माणमा पनि विशेष जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. खतिवडाले अभिकर्ताहरूलाई आफ्नो व्यावसायिक दक्षता, नेतृत्व क्षमता र ग्राहकप्रतिको जिम्मेवारीलाई थप सुदृढ बनाउँदै कम्पनीको लक्ष्य प्राप्तिमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
प्रदेश प्रमुख गुप्ताले बीमा बजारको बदलिँदो आवश्यकता र प्रतिस्पर्धालाई ध्यानमा राख्दै नवीन सोच, प्रभावकारी रणनीति तथा योजनाबद्ध ढंगले अघि बढ्न अभिकर्ताहरूलाई प्रेरित गरेका थिए।
सहभागीहरूले कार्यक्रमले व्यवसायिक लक्ष्य प्राप्तिका लागि स्पष्ट मार्गदर्शन प्रदान गर्नुका साथै अभिकर्ताहरूको मनोबल अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।