काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका विद्यमान संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्रीमा राखेको छ।
कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीबाट आवेदन माग गरेको हो। इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
शेयर खरिदका लागि आवेदन दिँदा नेपाल बीमा प्राधिकरणले तोकेको ‘फिट एन्ड प्रपर टेस्ट’को मापदण्ड पूरा हुने आवश्यक कागजातसमेत पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार संस्थापक समूहबाहेकका अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।
यससँगै कम्पनीको संस्थापक शेयर स्वामित्व संरचनामा समेत परिवर्तन आउन सक्नेछ। तर, पहिलो चरणमा भने शेयर बिक्री विद्यमान संस्थापक शेयरधनीबीच नै गर्ने प्रक्रिया अघि बढाइएको छ।