प्रशासनयन्त्र विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरूको समुह तथा राज्यको स्थायी संयन्त्र हो । यो सरकारी सेवा प्रवाहको मूल अंग पनि हो । यसै कारणले सरकारी नीति निर्माण र कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ । प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) वीचको सम्बन्ध सेतु हो । यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्तिनै सरकार त जनतावीचको सम्बन्ध असल हुने गर्दछ र यहि असल सम्बन्धलेनै सरकारको दिगोपना को सुनिश्चितता गर्ने गर्दछ ।
यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो । प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता ले एकातर्फ राजनीतिज्ञले आफुले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियाका आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भै त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ । सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको सम्वाहक हो ।
प्रशासन र कर्मचारीतन्त्र राज्य संयन्त्रको त्यस्तो महत्वपूर्ण अंग हो जो प्रतिस्पर्धात्मक तवरबाट छानिएर आएका हुन्छन । उनीहरूको कार्य शर्त, कार्य अवधि र सेवाका अन्य शर्तहरू सम्बन्धित कानुनवाट निर्देशित हुने गर्दछ । प्रशासनयन्त्रमा निश्चित पद सोपानमा आधारित नियन्त्रण र आदेशको श्रृङ्खला, नियममा आधारित निष्पक्ष कार्यशैली, विज्ञतामा आधारित जनशक्ति र संगठनात्मक संरचना, व्यवसायिकता र उत्पादकत्व ः उत्तरदायित्व र वृत्तिविकासको मानक जस्ता विशेषताहरू रहेका हुन्छन् ।
राज्य संचालनमा प्रशासन जसलाई स्थायी सरकार वा छानिएका पदाधिकारी भनिन्छ र राजनीतिज्ञ जसलाई निर्वाचित पदाधिकारी भनिन्छ, यी दुवै, सरकारी संरचनाका महत्वपूर्ण अंगहरू हुन । प्रशासन स्थायी संरचना र विज्ञताले युक्त अंग भएपनि आवधिक रुपमा निर्वाचित भएर आउने राजनीतिक नेतृत्वको मातहतमा रहेर प्रशासनयन्त्रले काम गर्ने गर्दछ । त्यसैले प्रशासनले विभिन्न चरणमा भिन्न भिन्न राजनैतिक समूह संग रहेर काम गर्नुपर्ने हुन्छ । प्रशासनको राजनीतिकरण भन्ने सन्दर्भले प्रशासन कुनै राजनीतिक दल बिषेषको वाद वाट आकर्षित हुने भन्दापनि सरकारमा भएको परिवर्तन वाट प्रभावित नभै सरकारी नीतिको कार्यान्वयनमा आफ्नो विज्ञता र दक्षताको प्रयोगमा विचलित हुनु नहुने मान्यता राख्दछ । यसले राजनैतिक रुपमा तटस्थ र सरकारी नीति कार्यक्रमको कार्यान्वयन प्रति प्रतिवद्ध रहनु पर्दछ भन्ने मान्यताको अवधारणामा जोड दिन्छ ।
प्रशासनको राजनीतिकरण शव्दावलीले अमूक दलको सरकार बन्दा क्षमताको प्रदर्शन गर्ने र अर्को अमूक दलको सरकार वन्दा निस्क्रियता प्रदर्शन गर्ने परिपाटीको परिकल्पना गदैन । कानूनी प्रक्रियाको पूर्ण अवलम्बन गर्ने तर कागजी प्रक्रिया, समय र लागतमा सकभर कमी ल्याई उत्पादकत्व अभिवृध्दि गर्ने प्रशासन यन्त्र यस सन्दर्भमा सामयिक आवश्यकता हो । जुनसुकै राजनैतिक परिपाटीमा पनि निश्पक्ष, स्वतन्त्र र व्यवसायिक भएर निर्वाचित सरकारको मनोभावनालाई परिणाममा बदल्न सक्ने प्रशासन वनाउनु नै यथार्थमा प्रशासनमा राजनीतिकरण हो । यसको लागि राजनैतिक दूरदर्शिता, नेतृत्व कौशलता र परिणाममुखी राजनैतिक नेतृत्वको आवश्यकता हुन्छ ।
यो विषयसँगै आउने अर्को शब्दावली राजनीतिको प्रशासनिकरण पनि हो । यी दुई शब्दावलीले राजनीति र प्रशासन सीमारेखा को आवधारणा अनुरुप दुवै पक्ष आ आफ्नो कार्यक्षेत्र संग सम्बन्धित विषयमा केन्द्रित रहनुपर्दछ र एक अर्काले अर्काको मूल कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने तर कार्यान्वयन तहमा एक अर्काको निरन्तर सहयोगको अपेक्षा राख्दछन । तसर्थ राजनीतिज्ञ वा सरकारमा प्रतिनिधित्व गर्ने दल वा प्रतिनिधित्व गर्ने दल विशेष वा पदाधिकारीहरूले प्रशासनयन्त्रको सीमा बुझिदिनु पर्ने हुन्छ र कर्मचारीहरू एउटा निश्चित कानूनी सीमा रेखा वाट बांधिएका हुन्छन्, उनीहरूको सेवा शर्त कानूनवाट निर्देशित भएको हुन्छ र उनीहरूले आफ्नो प्रशासकीय र संस्थागत उत्तरदायित्व मार्फत जनउत्तरदायित्व निर्वाह गरिरहेका हुन्छन् भन्ने बुझिदिनु पर्ने हुन्छ ।
प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अंगहरू हुन् । राजनीति सधै भविष्यद्रष्टा, महत्वाकांक्षी, शीघ्र परिणाम खोज्न, जोखिम लिने र परिणामको उपलब्धतावाट सरकारको लोकप्रियता खोज्ने र यसै आधारमा सरकार वा आफ्नो दल विशेषको दिगोपना कायम राख्ने चाहनाबाट अभिप्रेरित भएको हुन्छ । तर राजनीतिज्ञको यो चाहना परिपूर्ति राजनीतिज्ञले आफै गर्न सक्दैन यसमा कानूनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्दछ । प्रशासन यन्त्र विज्ञ, दक्ष, विषयको ज्ञान, कुनै कामको सकारात्मक र नकारात्मक अन्तरसम्बन्धसंग परिचित हुन्छन् । राजनीतिज्ञले भविष्यको अमूर्त चित्रको परिकल्पना गर्दछ प्रशासनयन्त्रले त्यसलाई मूर्तता दिने गर्दछ ।
नीति निर्माण राजनीतिक नेतृत्वको मूल कार्यक्षेत्र हो । तर राजनीतिक नेतृत्वसंग जनताका ईच्छा, आकांक्षा,चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ तर त्यो ईच्छा, आकांक्षा,चाहनालाई कानूनी र प्रशासनिक प्रक्रियाको माध्यमवाट नीति दस्तावेजमा प्रतिविम्वित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनव्दारा जनतासंग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ । यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषवस्तु भएपनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थता व्दारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुदै गएको छ । यो अवधारणाले आस्था, वाद वा विचारको आवध्दता सहितको दक्षतालाई पूर्ण रुपमा नकारेको छ ।
प्रशासनिक सक्रियताका लागि केही आवश्यक पूर्वशर्तहरू रहेका हुन्छन् । जससही व्यक्ति को सही ठाउंमा सरुवा वा पदस्थापन गर्ने निश्पक्ष प्रणाली,योग्यता प्रणालीको अबलम्बन, प्रतिभा व्यवस्थापन र प्रतिभाको अधिकतम उपयोगको नीति, विज्ञतालाई कहिल्यै पनि राजनैतिक आवरणमा हेरिनु नहुन विषयहरू पर्दछन् ।
यसै गरी प्रशासनिक तहमाप्रशासनिक तत्परता, सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन योग्य वनाउन आवश्यक प्रशासनिक र प्रक्रियागत व्यवस्था, कार्यको जिम्मेवारी तोक्ने र क्षमता अनुसारको कर्मचारी व्यवस्थापन, कार्य सम्पन्न गर्ने अवधि र अपेक्षित परिणामको पुर्वानुमान गर्न सक्षम प्रशासन प्रणाली, जोखिमका संभावित क्षेत्रको पहिचान र जोखिम न्यूनिकरण गर्ने कार्ययोजना, सहकर्ता निकायहरूको पहिचान र सहकार्य, अनुगमन र मुल्याङ्कन प्रणाली र पृष्ठपोषण प्राप्ति, पृष्ठपोषण उपयोग तथा सामयिक सुधारको लागि नियमित क्रियाशीलताजस्ता विषयहरूको उपस्थिति अपरिहार्य हुन्छ ।
(रेग्मी प्रशासन र संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक हुनुहुन्छ ।)