काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेड (पीसीबीएल) ले निष्कासन गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले आगामी असार ३० गतेसम्म ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।
बैंकले असार १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको उक्त ऋणपत्रमा मागअनुसार आवेदन नपरेपछि आवेदन अवधि लम्ब्याइएको हो। यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको समयअघि नै सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने बैंकले जनाएको छ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका तीन अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ। तीमध्ये १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्।
ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था गरिएको छ।
क्रेडिट रेटिङका लागि केयर रेटिङ्स नेपालले बैंकलाई ‘CARE-NP A- (Issuer Rating)’ प्रदान गरेको छ, जसले बैंक वित्तीय दायित्व समयमै पूरा गर्न सक्षम रहेको संकेत गर्छ।
बैंकका अनुसार ऋणपत्रमा प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टा गरी भुक्तानी गरिनेछ।