free website hit counter

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुला

beemaadmin
२०८३ असार १६, मंगलवार

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (असार १६ गते) देखि ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।

बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। यसअनुसार बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ।

कुल निष्कासित ऋणपत्रमध्ये १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबर) व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा असार १९ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ३० गते निष्कासन बन्द हुनेछ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्कासनका लागि केयर रेटिङ्स नेपालले बैंकलाई ‘केयर–एनपी ए माइनस (इश्युअर रेटिङ)’ प्रदान गरेको छ। यो रेटिङले बैंक आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त रूपमा सक्षम रहेको संकेत गर्छ।

ऋणपत्रबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टी गरी लगानीकर्ताको खातामा भुक्तानी गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार