काठमाडौं । मुलुकमा आएको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्पसहित एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलहरूले तत्काल खोज, उद्धार र राहत कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने तथा विपद्पछिको दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र गठन गर्ने निर्णय गरेका छन्।
बैठकपछि नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय संकटका बेला राजनीतिक दलहरू एक ठाउँमा उभिने परम्परालाई निरन्तरता दिँदै विपत्तिको सामना गर्न साझा रूपमा अघि बढ्ने बताए।
उनका अनुसार सरकारबाट भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे बैठकमा जानकारी गराइएको थियो भने विभिन्न दलले प्राप्त गरेका सूचनासमेत सरकारलाई उपलब्ध गराएका थिए।
थापाले अहिलेको प्राथमिकता बेपत्ताको खोजी, उद्धार र तत्काल राहत रहेको बताए। विपत्तिबाट भएको क्षति ठूलो हुने देखिएकाले पुनर्निर्माणको काम दीर्घकालसम्म चल्ने भन्दै त्यसको निरन्तर अनुगमन र सरकारलाई आवश्यक सुझाव दिन संयुक्त संसदीय संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो।
प्रस्तावित संयन्त्रमा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दललाई समेत समेट्ने तयारी गरिएको छ। विगतका विपत्तिमा प्रारम्भिक चरणमा सक्रियता देखिए पनि समय बित्दै जाँदा पीडितका समस्या ओझेलमा पर्ने गरेको भन्दै थापाले यसपटक त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाए।