काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग तत्काल छलफल गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग भेटघाटका लागि समय माग्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार भेटका क्रममा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्थापनलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइनेछ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी वैकल्पिक व्यवस्थाको बाटो खोल्ने विषयमा पनि प्रधानमन्त्रीसँग निर्णयका लागि आग्रह गर्ने भएको छ।
फोरमका अध्यक्ष महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको भन्दै यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।
फोरमले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको भनिएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ।
प्रधानमन्त्रीसँग हुने भेटमा उक्त विषय पनि उठाउने निर्णय भएको महर्जनले जानकारी दिए। फोरमले उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने जनाएको छ।
यसैबीच, उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडाका स्थानीयले आफ्ना माग १५ दिनभित्र पूरा नगरे फोहोर विसर्जनमा रोक लगाउने चेतावनी दिएका छन्।
स्थानीयको उक्त चेतावनीपछि उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बन्न सक्ने भन्दै मेयर्स फोरमले प्रधानमन्त्रीसँग तत्काल छलफल गर्न लागेको हो।
फोरमले फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको जनाएको छ। तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौताको कार्यान्वयन वा त्यसको विकल्पबारे स्पष्ट निर्णय आवश्यक रहेको फोरमको भनाइ छ।